त्रिशूली ३ 'ए' सुरुङ दुर्घटना: १० दिनपछि दुई जनाको जीवितै उद्धार, एकको शव फेला

त्रिशूली ३ 'ए' सुरुङ दुर्घटना: १० दिनपछि दुई जनाको जीवितै उद्धार, एकको शव फेला

काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि थुनिएका दुई जना श्रमिकलाई शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ। बाढीका कारण सुरुङभित्र फसेका सप्तरीका ३२ वर्षीय फोरम्यान सञ्जय साह र सुपरभाइजर कबीर महर्जनको जीवितै उद्धार गरिएको हो। उद्धार लगत्तै दुवैलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ।

उद्धारपछि सुरुङभित्रबाट थप एक जनाको शव समेत निकालिएको छ। भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण आयोजनाको पावर हाउस तथा सुरुङ क्षेत्र थुनिएर ठूलो क्षति पुग्नुका साथै प्राविधिक तथा कर्मचारीहरू सम्पर्कविहीन बनेका थिए।

जीवितै बाहिरिएका साहले सुरुङभित्र अन्य व्यक्तिहरू पनि सुरक्षित रहेको जानकारी दिएका थिए। सोही आधारमा नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी र प्राधिकरणका प्राविधिक टोली थप खोजीका लागि सुरुङभित्र प्रवेश गरेको थियो।

तर, सुरुङभित्र आफैं पुगेका जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेका अनुसार शुक्रबार साँझ ५ बजेसम्म खोजबिन गर्दा अन्य मानिस भेटिएका छैनन्। "सुरुङभित्रका सबै भागमा सूक्ष्म रूपमा खोजी गर्दा पनि जीवित वा मृत अवस्थामा कोही फेला परेनन्," न्यौपानेले भने।

बाढीका कारण अत्यन्तै जोखिमपूर्ण बनेको सुरुङभित्र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राधिकरणको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

छुटाउनुभयो कि ?