काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार गत भदौ १० गतेको बाढीले क्षति पुर्याएको जलविद्युत् आयोजनास्थलमा उद्धार टोलीहरू दिनरात खटिएका छन्। प्राधिकरणका प्रवक्ता राजन ढकालले सुरुङ (टनेल) को मुखमा जमेको १५ फिटसम्मको लेदो पन्छाएर नेपाली सेनाको टोली भित्र प्रवेश गरेको जानकारी दिनुभयो। प्राविधिक टोलीले सुरुङमा थुप्रिएको पानी निकास गराउन सफलता पाएपछि उद्धार कार्य थप सहज बनेको छ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्राधिकरणको व्यवस्थापन समितिले बजेट, खाद्यान्न तथा अन्य आवश्यक स्रोत-साधनको कुनै कमी हुन नदिने निर्णय गरेको छ।
यसैगरी बाढीका कारण सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको यकिन विवरण अद्यावधिक गर्न र उनीहरूका परिवारको गुनासो सुनुवाइका लागि जनसाधन विभागका निर्देशकको संयोजकत्वमा एक समन्वय समिति गठन गरिएको छ।
बेपत्ता कामदारका आफन्तहरूलाई वास्तविक स्थितिबारे जानकारी गराउन पावरहाउस क्षेत्रमै लगेर स्थलगत निरीक्षण गराउने व्यवस्थासमेत मिलाइएको प्राधिकरणले जनाएको छ।