बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडानमा रोक, नियम उल्लङ्घन गरे जफत गरिने

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडानमा रोक, नियम उल्लङ्घन गरे जफत गरिने

काठमाडौँ । गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन नउडाउन सर्वसाधारण र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। खोज, उद्धार तथा राहत वितरणका कार्यमा प्राविधिक अवरोध सिर्जना हुन सक्ने भएकाले अनुमतिबिना ड्रोन उडानमा रोक लगाइएको मन्त्रालयले जनाएको छ।

प्रभावित क्षेत्रमा १०० किलोग्रामसम्म भार बोक्न सक्ने र राहत सामग्री ढुवानी तथा मृतकको शव स्थानान्तरणका लागि विशेष अनुमति पाएका ठूला ड्रोनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। मन्त्रालयका अनुसार तोकिएको मापदण्डविपरीत वा अनुमति नलिई ड्रोन उडाएमा 'एन्टी-ड्रोन' टोली परिचालन गरी त्यस्ता ड्रोन नियन्त्रणमा लिएर जफत गरिनेछ।

हाल बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले खोज, उद्धार तथा राहत वितरणको काम गरिरहेका छन्। सुरक्षाकर्मीको कार्यलाई सुरक्षित, समन्वयात्मक र बाधारहित बनाउन आवश्यक सावधानी अपनाउँदै पूर्ण सहयोग गर्न गृह मन्त्रालयले सबैमा अपिल गरेको छ।

छुटाउनुभयो कि ?