गोरखा । गोसाइँकुण्ड तीर्थयात्राका क्रममा बाढीमा परी बेपत्ता भएका आफन्तहरूको कुनै अत्तोपत्तो नभएपछि गोरखाको पालुङटार नगरपालिका–५ नौखोरका स्थानीयले Kush (कुश) को शव बनाएर काजकिरिया सुरु गरेका छन्। 'सास वा लास'को पर्खाइमा एक साता बितिसक्दा पनि उद्धार वा स्थिति सार्वजनिक हुन नसकेपछि पीडित परिवारजनले धार्मिक परम्परा अनुसार दाहसंस्कार थालेका हुन्।
गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले नौखोरबाट गोसाइँकुण्डतर्फ गएको यात्रुवाहक बस बगाएको थियो। बसमा सवार ३६ जनामध्ये ६ जना सकुशल भेटिएका छन् भने चार जनाको शव चितवन र नवलपुर क्षेत्रमा फेला परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कमला देवकोटा, सुजता कौडाल, सुमी कुमाल र केदार पण्डितको शव पहिचान भई परम्परागत रूपमा दाहसंस्कार भइसकेको छ। बाँकी २६ जना अझै सम्पर्कविहीन छन्।
अवस्था अज्ञात रहेकाहरूको जीवितै फर्किने आशा मारिएपछि परिवारजनले मस्र्याङ्दी र चेपे नदीको दोभानमा कुशको प्रतीक बनाएर अन्येष्टि गर्न थालेका छन्। स्थानीय लक्ष्मण गिरीका अनुसार बुधबार बस चालक सागर देवकोटा, उनकी आमा राममाया देवकोटा, पद्मकुमारी देवकोटा, नानुमाया थापा, सरिता अधिकारी पण्डित, दुर्गा देवकोटा र सुस्मा न्यौपानेको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।
त्यस्तै बिहीबार मुक्तिनाथ अम्गाईं, उनकी श्रीमती मिठुमाया अम्गाईं, मधुमाया पण्डित र कमला पण्डितको अन्तिम संस्कार गरिएको छ। एउटै परिवारका धेरै जना बेपत्ता भएकाले धार्मिक परम्परा अनुसार दिन बिराएर संस्कार गर्नुपरेको र बाँकी बेपत्ताहरूको पनि त्यसैगरी अन्येष्टि गर्ने तयारी भइरहेको गिरीले बताए।