भोटेकोशी बाढी: मृत्यु हुनेको सङ्ख्या १२ सय नाघ्यो, चार हजारभन्दा बढी अझै बेपत्ता

भोटेकोशी बाढी: मृत्यु हुनेको सङ्ख्या १२ सय नाघ्यो, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२१६ जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार साँझसम्म ११,९९३ जनाको सकुशल उद्धार गरिएको छ। बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा बेपत्ताहरूको खोजीलाई तीव्र पारिएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका गरी २१,३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९,१९९, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरी बलका ४,२०३ जना जनशक्ति खटिएका छन्। बाढी तथा पहिरोले सडक र भौतिक संरचनाहरू क्षतिग्रस्त बनाएकाले नदी किनार तथा प्रभावित बस्तीहरूमा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनलगायतका जिल्लाहरू बढी प्रभावित भएका छन्। हालसम्म चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा १५५, रसुवामा ११५, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका स्थानहरूमा सेनाले हवाई उद्धारलाई प्राथमिकता दिएको छ। सेनाले हालसम्म ६९० उडानमार्फत ४,०९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ, जसमध्ये बुधबार मात्रै ८० उडान भएका थिए। यसका साथै निजी क्षेत्रका २९ उडानमार्फत पनि राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याइएको छ।

बाढीमा परी सुरक्षाकर्मीसहित ठूलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन छन्। बेपत्ता हुनेहरूमा नुवाकोटका १,५५८, जलविद्युत् आयोजनाका करिब ९००, रसुवाका करिब ८६५, ५८३ विदेशी नागरिक, पर्यटकसँग गएका १६४ नेपाली, भन्सारका १४, अध्यागमनका तीन, जनप्रतिनिधि सात र स्थानीय तहका ३२ जना कर्मचारी छन्। साथै, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी पनि अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सामग्री तथा अत्यावश्यक राहत पठाउने काम निरन्तर जारी छ। ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता रहेकाले राज्यका सबै निकाय, स्थानीय तह र सुरक्षाकर्मीहरू खोजी कार्यलाई थप प्रभावकारी बनाउन निरन्तर सक्रिय छन्।