काठमाडौँ। अमेरिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि थप मानवीय सहायता तथा विपत् प्रतिकार्य सामग्री उपलब्ध गराएको छ। नेपाल सरकारको अनुरोध अनुसार अमेरिकी सेनाका दुई वटा मालवाहक विमानमार्फत उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सामग्री काठमाडौँ ल्याइएको हो।
काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार हस्तान्तरण गरिएका सामग्रीहरूमा ५ हजार थान विशेष विपत् सामग्री, ५ सय वटा प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट–एन्ड लोडर रहेका छन्। यी सामग्रीहरू प्रभावित क्षेत्रमा जारी खोजी, उद्धार, मृतकको शव व्यवस्थापन र पुनःस्थापना कार्यमा प्रयोग गरिनेछन्।
अमेरिकाले यसअघि नै बाढी प्रतिकार्यका लागि ३६ लाख अमेरिकी डलर बराबरको सहायता घोषणा गरिसकेको छ। नेपाल सरकारको आग्रहमा उपलब्ध गराइएको यो नयाँ सहयोग सोही सहायताको अतिरिक्त रहेको दूतावासले जनाएको छ।
अमेरिकी दूतावासका अनुसार यस सहयोगले नेपाल र अमेरिकाबिच रहेको दीर्घकालीन साझेदारी र विपत्को समयमा प्रभावित समुदायलाई राहत पुर्याउने साझा प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।