बाढीप्रभावित रसुवा, नुवाकोट र धादिङमा टेलिकमको सेवा पूर्ण रूपमा सुचारु

बाढीप्रभावित रसुवा, नुवाकोट र धादिङमा टेलिकमको सेवा पूर्ण रूपमा सुचारु

काठमाडौँ। गत भदौ १० गतेको भीषण बाढीका कारण दूरसञ्चार सेवा अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा नेपाल टेलिकमले मोबाइल तथा इन्टरनेट सेवा पूर्ण रूपमा सुचारु गरेको छ। प्राविधिकहरूको निरन्तर प्रयास र सुरक्षा निकायको सहयोगमा सबै टावर (बीटीएस साइट) हरू पुनः सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।

बाढीका कारण तीन जिल्लाका कुल १२० साइटमध्ये ८३ वटा टावरमा सेवा अवरुद्ध भएको थियो भने टिमुरे, चिलिमे खोला र त्रिशूली ३ ‘बी’ का तीन साइट पूर्ण रूपमा क्षति पुगेका थिए। बाढीले सडक तथा विद्युत् सेवा ठप्प पारेपछि टेलिकमले नेपाली सेना लगायत सुरक्षा निकायसँग समन्वय गरी हेलिकप्टरमार्फत प्राविधिक, जेनेरेटर, ब्याट्री तथा इन्धन ढुवानी गरेर सेवा सुचारु गराएको हो।

भदौ ११ गतेदेखि नै न्यौपानेचौर, राम्चे, धुन्चे, गोलजुङ, टिमुरे डाँडा, गेर्खु, बट्टार, बैरेनी लगायतका स्थानमा जेनेरेटर परिचालन गरी टावरहरू चलाइएको थियो। भदौ १४ गते नेपाल–चीन सीमा नजिक रहेको रसुवा बोर्डर बीटीएस साइट सञ्चालनमा आएसँगै सीमा नाका, टिमुरे र स्याफ्रुबेँसी-भोटेकोशी करिडोर क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि सञ्चार सम्पर्क सहज बनेको थियो।

भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ र बुधसिंहका टावरहरू सुचारु गरेसँगै प्रभावित क्षेत्रका सबै साइटहरू सञ्चालनमा आएका छन्। पूर्ण रूपमा नष्ट भएका तीनवटा साइटको सेवा हाल वैकल्पिक टावरहरूमार्फत उपलब्ध गराइएको छ भने तिनलाई छिट्टै पुनर्निर्माण गरिनेछ।

विद्युत् आपूर्ति नभएका स्थानमा हालसम्म पनि जेनेरेटरबाटै टावर सञ्चालन गरिएको टेलिकमले जनाएको छ। विपद्को समयमा सेवा पुनःस्थापनामा सहयोग पुर्‍याउने मन्त्रालय, सुरक्षा निकाय, नेपाल विद्युत् प्राधिकरण, हेलिकप्टर सञ्चालक तथा स्थानीय तहहरूप्रति नेपाल टेलिकमले आभार व्यक्त गरेको छ।