रसुवाको टिमुरे-घट्टेखोला क्षेत्रमा १०५ शव फेला: हिलो र मौसमका कारण उद्धार जटिल

रसुवाको टिमुरे-घट्टेखोला क्षेत्रमा १०५ शव फेला: हिलो र मौसमका कारण उद्धार जटिल

काठमाडौँ। रसुवाको टिमुरेस्थित सुक्खा बन्दरगाहदेखि घट्टेखोलासम्मको क्षेत्रमा बाढीमा परी ज्यान गुमाएका १०५ जनाको शव फेला परेको छ। भोटेकोशी नदीका दुवै किनारमा छरिएको तथा घरभित्र लेदोले पुरिएको अवस्थामा ती शवहरू भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार तीन दिनयता हेलिकप्टरमार्फत गरिएको हवाई खोजी (सर्च अपरेसन) का क्रममा ती शवहरू सङ्कलन गरिएको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उत्खनन गरी सङ्कलन गरेका ती शवहरू नुवाकोट हुँदै परीक्षणका लागि काठमाडौँ पठाइसकिएको छ।

यसअघि स्याफ्रुबेँसीमा ९ र बेत्रावतीमा ११ वटा शव फेला परेका थिए। भेटिएका शवमध्ये पहिलो शवको आफन्तले काठमाडौँमा सनाखत गरिसकेका छन्।

खोजी तथा उद्धार कार्यमा भने भौगोलिक विकटता, बाक्लो हिलो र प्रतिकूल मौसमका कारण ठूलो सास्ती भइरहेको छ। डीएसपी थापाका अनुसार भोटेकोशी क्षेत्रमा ठूलो परिमाणमा लेदो थुप्रिएकाले स्थलगत रूपमा सुरक्षाकर्मी परिचालन गरी पुरिएका शव निकाल्न तत्काल असम्भवप्रायः छ। निरन्तरको वर्षा र कुहिरोले हेलिकप्टर उडानमा समेत कठिनाइ ल्याएको छ।

त्यस्तै, बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङहरूमा डोजर वा भारी उपकरण लैजान नसकिएकाले खोजी कार्य अघि बढाउन सकिएको छैन। उद्धारमा खटिने सुरक्षाकर्मीका लागि खानेपानी, खाद्यान्न र बसोबास (टेन्ट) को व्यवस्थापन गर्न कठिन भएकाले टोलीलाई धुन्चेबाटै आउजाउ गराउनुपर्ने बाध्यता रहेको प्रहरीले जनाएको छ।