पहिरोले त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक अवरुद्ध, बिपी राजमार्गमा आंशिक प्रतिबन्ध

पहिरोले त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक अवरुद्ध, बिपी राजमार्गमा आंशिक प्रतिबन्ध

काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (बुधबार) बिहान ६:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। सो क्षेत्रमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन नपाइने र दिउँसोको समयमा परिस्थितिको मूल्याङ्कन गरेर मात्र यातायात खुलाइने छ।

त्यसैगरी रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उता नुवाकोट र काठमाडौँ जोड्ने टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा समेत राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।