‘एक घर बनाउने सङ्कल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान, बाढीपीडितका लागि आवास निर्माण गरिदिने घोषणा

‘एक घर बनाउने सङ्कल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान, बाढीपीडितका लागि आवास निर्माण गरिदिने घोषणा

काठमाडौं।  नेपालका बाढी तथा डुबान प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनस्र्थापनामा सघाउन भारतीय चलचित्र अभिनेता एवम् समाजसेवी सोनु सूद मङ्गलबार काठमाडौँ आइपुगेका छन्। लायन्स क्लब्स इन्टरनेसनल र ‘खाल्सा एड’ सँगको सहकार्यमा मानवीय सहायता जुटाउने उद्देश्यका साथ उनी नेपाल आएका हुन्।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सूदले विपत्तिको यस कठिन घडीमा नेपाललाई सहयोग गर्न विश्वभरका समुदायलाई अपिल गरे। बाढीका कारण घरबारविहीन बनेका नागरिकहरूलाई पुनः स्थापित गर्न उनले ‘एक घर बनाउने सङ्कल्प’ अभियानको प्रस्ताव अघि सारे। भारतको पञ्जाबमा बाढीपछि आफ्नो संस्थाले २५७ वटा घर निर्माण गरिदिएको उदाहरण दिँदै उनले नेपालका बाढी प्रभावित क्षेत्रमा पनि पहिचान गरिएका स्थानहरूमा घर निर्माण थालिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल अहिले निकै कठिन समयबाट गुज्रिरहेकाले अगाडि आएर सहयोग गर्नु सबैको मानवीय दायित्व भएको सूदको भनाइ थियो। टाढाबाट सहयोग पठाउनुभन्दा आफैँ उपस्थित भएर पीडितलाई ढाडस दिनुको प्रभाव ठुलो हुने भएकाले आफू जिम्मेवारी पूरा गर्न नेपाल आएको उनले बताए। उनका अनुसार ‘सूद च्यारिटी फाउन्डेसन’, लायन्स क्लब र खाल्सा एडको संयुक्त टोलीले स्थलगत रूपमा पुगेर वास्तविक आवश्यकताको पहिचान गरिरहेको छ।

हाल भारतबाट दुई हजार थान कम्बल, लत्ताकपडा, सुक्खा खाद्यान्न तथा महिला स्वास्थ्य सामग्रीहरू नेपालतर्फ पठाइसकिएको उनले जानकारी दिए। सूदले नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमण गरी शिक्षा, स्वास्थ्य र आवाससम्बन्धी समस्या समाधानका लागि दीर्घकालीन सहयोग योजना बनाउने बताए।

नेपाली नागरिकहरूको आत्मबल र मिहिनेती स्वभावको प्रशंसा गर्दै उनले मुम्बईमा विगत २५–३० वर्षदेखि आफूसँग काम गर्ने अधिकांश व्यक्तिहरू नेपाली नै रहेको उल्लेख गरे। यस्तै, प्रकृतिको दोहन र वनजङ्गल फडानीका कारण विश्वभर विपत्तिहरू बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले भावी पुस्ताको सुरक्षाका लागि प्रकृतिको संरक्षणमा गम्भीर हुनुपर्नेमा जोड दिए।