काठमाडौं। भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ।
सेनाले सोमबार एकैदिन हवाई साधनमार्फत एक जर्मन नागरिकसहित १०९ जनाको सकुशल उद्धार गरेको छ। साँझ ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सेनाले रसुवाको टिमुरेदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ८ हजार ९ सयभन्दा बढी सैनिक फौज परिचालन गरिएको जनाएको छ।
विपद्का कारण ठूलो क्षति पुगेका विभिन्न जलविद्युत् आयोजनाका टनेलभित्र विशेष टोलीसहित विदेशी उद्धारकर्मीहरू समेत परिचालन गरी खोजी कार्य जारी राखिएको छ। त्रिशूली–३ ‘ए’ को टनेल हेड फेला पारी कम्प्रेसरमार्फत हावा पठाउने र पानी निकाल्ने काम भइरहेको छ भने वैकल्पिक मार्गसमेत तयार पारिँदै छ।
यसैगरी, चिलिमे, अपर त्रिशूली–१, रसुवागढी र लाङटाङ हाइड्रोका टनेलभित्र छिरेर उद्धार टोलीले खोजी गरिरहेका छन्। लाङटाङ हाइड्रोको टनेलबाट एक शवसमेत संकलन गरिएको छ।
सेनाले प्रभावित क्षेत्रका जङ्गल, डाँडा र बस्तीहरूमा स्थानीयको अवस्था बुझ्न पैदल गस्ती टोलीसमेत खटाएको छ। उद्धारकै क्रममा टिमुरे क्षेत्रमा फेला परेका नेपाली र चिनियाँ भाषाका अक्षर लेखिएका पाँचवटा सेफहरू नियमानुसार भरपाई गरी सशस्त्र प्रहरी बललाई बुझाइएको छ। यस्तै, त्रिशूली र धुन्चेस्थित आपत्कालीन उपचार केन्द्रमार्फत १६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ।