दमौली। भोटेकोशीमा आएको भीषण बाढीका कारण देवघाटस्थित त्रिशूली नदीमा फेला परेका तर हालसम्म पहिचान हुन नसकेका शवहरू व्यास नगरपालिका-५ स्थित चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ।
भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी शवहरूको व्यवस्थापन गर्न लागिएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए। उनले शव व्यवस्थापन गर्नुअघि सबै कानुनी तथा वैज्ञानिक प्रक्रियाहरू पूरा गरिएको स्पष्ट पारे।
प्रशासनका अनुसार शव पहिचानका लागि डिएनए नमुना संकलन, तस्बिर तथा अन्य आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र व्यवस्थापनको काम अघि बढाइएको हो। तनहुँ क्षेत्रमा हालसम्म ३७ वटा शव फेला परेकामा २४ वटा पोखरा पठाइएको छ भने १४ वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ।
शव व्यवस्थापनको कार्य अत्यन्त संवेदनशील भएकाले स्वास्थ्यकर्मी, सुरक्षा निकाय र स्थानीय प्रशासनको प्रत्यक्ष समन्वयमा तोकिएको मापदण्ड पूरा गरेर काम भइरहेको प्रशासनले जनाएको छ।