शव व्यवस्थापनबारे टिप्पणी गर्ने सचिव निरौला काज सरुवा, रसुवामै खटाइयो शव व्यवस्थापनको जिम्मेवारी

शव व्यवस्थापनबारे टिप्पणी गर्ने सचिव निरौला काज सरुवा, रसुवामै खटाइयो शव व्यवस्थापनको जिम्मेवारी

विराटनगर । रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको शव व्यवस्थापन प्रक्रियाबारे सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गरेपछि कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौला कारबाही स्वरूप काज सरुवामा परेका छन्।

कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सचिव निरौलाले बाढीमा ज्यान गुमाएका र सनाखत हुन नसकेका शवहरूबाट 'डीएनए' (DNA) नमुना सङ्कलन गरी सामूहिक रूपमा गाडिएको विषयलाई 'फोकटको सुझाव' भन्दै सामाजिक सञ्जालमा असन्तोष प्रकट गरेका थिए। विपद्को संवेदनशील समयमा जिम्मेवार पदमा बसेर गैरजिम्मेवार टिप्पणी गरेको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।

सामाजिक सञ्जालमा स्टाटस लेखेकै भोलिपल्ट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई बाढीग्रस्त जिल्ला रसुवामा काज सरुवा गरेकी हुन्। निर्णयअनुसार उनलाई रसुवाको अति प्रभावित टिमुरे क्षेत्रमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा शव व्यवस्थापनको जिम्मेवारी सम्हाल्न खटाइएको छ।

विपद्को जटिल परिस्थितिमा सरकारी अधिकारीहरूलाई थप संवेदनशील र जिम्मेवार बनाउनका साथै प्रभावित क्षेत्रमै पुगेर प्रत्यक्ष काम गर्न निर्देशन दिने उद्देश्यले यो कदम चालिएको मन्त्रालय स्रोतले जनाएको छ।