बाढीमा बेपत्ता आफन्तको खोजीको कहर

बाढीमा बेपत्ता आफन्तको खोजीको कहर

काठमाडौं। भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफन्तको खोजीमा परिवारजनहरू तस्वीर बोकेर विभिन्न अस्पताल र प्रहरी कार्यालयहरूमा भौँतारिरहेका छन्।

विपद् आएको पाँच दिन बितिसक्दा पनि हराएकाहरूको कुनै अत्तोपत्तो छैन। समय घर्किँदै जाँदा जीवितै भेटिने आशा कमजोर बन्दै गए पनि परिवारजनले खोजीलाई भने निरन्तरता दिइरहेका छन्।

भाद्र १० गते नुवाकोट र रसुवाको सीमा क्षेत्र बेत्रावतीबाट उमा गोले र उनका छोराछोरी बाढीपछि बेपत्ता भएका छन्। उमाकी बहिनी बिमा गोले दिदी र भान्जाभान्जीको खोजीमा दिनहुँ विभिन्न निकाय र सम्भावित स्थानमा पुगिरहेकी छन्। दिदी र भान्जाभान्जी कसरी बेपत्ता भए र अहिले कुन अवस्थामा छन् भन्नेबारे बिमालाई कुनै जानकारी छैन।

आफन्तका तस्वीर बोकेर भौँतारिइरहेकी बिमा दिदीबारे कुरा गर्दा भावुक बन्दै भक्कानिन्छिन्। “दिदी र छोराछोरीको केही खबर पाइन्छ कि भन्ने आशामा यताउता खोज्दै हिँडेकी छु,” यति भन्दै गर्दा उनका आँखाबाट आँसु थामिँदैनन्।

बिमाका अनुसार भाद्र १० गते विपद् आउनुअघि बिहान ९ बजेर १४ मिनेटसम्म दिदी उमासँग फोनमा कुराकानी भएको थियो। “भाग, भाग, भाग्नुपर्छ” भन्दै चिच्याइरहेका बेला एकाएक फोन सम्पर्क विच्छेद भएको उनले बताइन्। त्यसयता उमा र उनका छोराछोरीको कुनै खबर प्राप्त हुन सकेको छैन। “जीवित भेटिने आशा घट्दै गएको छ, तर कतै भेटिहालिन्छन् कि भन्ने आस अझै मरेको छैन,” उनले भनिन्।

यस्तै, दाङकी धनसरी नेपाली रसुवागढीमा बाढीका क्रममा बेपत्ता भएका आफ्ना २६ वर्षीय छोरा निरज नेपालीको खोजीमा भौँतारिइरहेकी छन्। रसुवागढीमा जेसिबी चालकका रूपमा कार्यरत निरज बाढीपछि सम्पर्कविहीन भएका हुन्। छोराको खबर पाउन आमा धनसरी विभिन्न निकायमा पुगेर रोइकराइ गरिरहेकी छन्।

यता बर्दियाका शिवबहादुर थारू पनि रसुवाको मैलुङबाट बेपत्ता भएका छन्। उनको खोजीमा भाइ सुमावीर थारू ठाउँ-ठाउँ पुगिरहेका छन्।

बाढीमा सर्वसाधारणका साथै सुरक्षाकर्मीसमेत बेपत्ता भएका छन्। टिमुरे प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सम्राट शेर्पा बाढी आउँदा प्रहरी भ्यानसहित बेपत्ता भएका हुन्। रामेछापको गोकुलगङ्गा-३ घर भएका शेर्पाको खोजीमा उनका काका गणेश शेर्पा शिक्षण अस्पताल काठमाडौँ, धुन्चे तथा जिल्ला प्रहरी कार्यालयलगायतका स्थानमा धाइरहेका छन्।

गणेशका अनुसार आफन्तको टोलीलाई त्रिशूली नदी किनारसम्म पठाइएको छ। रसुवा जान सहज अवस्था नरहेकाले चितवनको नारायणगढस्थित नारायणी नदी किनारसम्म पनि खोजीका लागि मानिस खटाइएको छ, तर अहिलेसम्म सम्राटको कुनै अत्तोपत्तो छैन।

त्यसैगरी, रामेछापका धनलाल तामाङ आफ्ना आफन्त दलबहादुर तामाङको खोजीमा छन्। नुवाकोटको ककनी गाउँपालिका-३ निवासी दलबहादुर रसुवागढी भन्सारमा कार्यरत थिए। बाढी आएकै दिनदेखि उनी पनि सम्पर्कविहीन छन्।

भोटेकोशीको बाढीले धेरै परिवारलाई असीम शोक, पीडा र अनिश्चितताको भुमरीमा धकेलिदिएको छ। बेपत्ता आफन्तको खोजीमा परिवारका सदस्यहरू अस्पतालका वार्डदेखि नदीका किनारसम्म भौँतारिइरहेका छन्। समय बित्दै जाँदा आशा कमजोर बन्दै गए पनि आफ्ना प्रियजन कतै न कतै भेटिने झिनो विश्वास उनीहरूले अझै मारेका छैनन्।