पर्वतारोही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि, गृहमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर सम्मान

पर्वतारोही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि, गृहमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर सम्मान

काठमाडौँ। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को धार्मिक परम्परा अनुसार काठमाडौँको स्वयम्भूमा अन्त्येष्टि गरिएको छ।

ब्रोड पिकमा गएको हिमपहिरोमा परी गुरुङ र निर्मल पुर्जासहित ६ नेपाली पर्वतारोही र अन्य गरी कुल १० जनाको निधन भएको थियो। हिमपहिरोमा ज्यान गुमाएका मध्ये गुरुङको पार्थिव शरीर बिहीबार नेपाल ल्याइएको थियो।

अन्त्येष्टिअघि आयोजना गरिएको श्रद्धाञ्जली सभामा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका सभापति गगन थापालगायत नेपाल पर्वतारोहण संघका पदाधिकारी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

श्रद्धाञ्जली अर्पण गर्दै गृहमन्त्री गुरुङले मृतक पुरबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर राज्यका तर्फबाट सम्मान व्यक्त गर्नुभयो। त्यस्तै, नेपाली कांग्रेसका स्थानीय नेतासमेत रहेका गुरुङलाई कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गर्नुभयो।

गोरखाको लाप्राक स्थायी घर भएका पुरबहादुर गुरुङ (युक्त) अनुभवी एवं साहसी पर्वतारोही हुनुहुन्थ्यो। उहाँले १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नाका साथै ८ हजार मिटरभन्दा अग्ला विश्वका विभिन्न हिमालहरू २८ पटक सफलतापूर्वक सर गरिसक्नुभएको थियो।

छुटाउनुभयो कि ?