काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ।
बोर्डको बिहीबार बसेको बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको हो। गएको साउन २ र ३ गते सञ्चालन गरिएको उक्त मौका परीक्षामा देशभरबाट कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए।
सहभागी परीक्षार्थीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त (उत्तीर्ण) गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो। परीक्षामा अनियमितता गरेको वा तोकिएको मर्यादा विपरीत काम गरेको पाइएकाले तीन जना परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको बोर्डले जनाएको छ।
नतिजा हेर्ने तरिका परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट (www.neb.gov.np) वा नेपाल टेलिकमको नतिजा पोर्टल (www.neb.ntc.net.np) मार्फत आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा तथा ग्रेडसिट हेर्न सक्नेछन्।
यस्तै, इन्टरनेट नभएको अवस्थामा नेपाल टेलिकमको सिम प्रयोगकर्ताले मोबाइलको म्यासेज बक्समा गएर NEB (स्पेस) आफ्नो 'सिम्बोल नम्बर' टाइप गरी १६०० (1600) मा म्यासेज (SMS) पठाएर वा १६०१ (1601) मा कल (IVR Service) गरेर पनि नतिजा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
पुनर्योग र प्रमाणपत्रसम्बन्धी व्यवस्था पुनर्योग: प्रकाशित नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रतिविषय रु. १,००० (एक हजार) दस्तुर बुझाएर साउन २४ गतेदेखि साउन ३० गते साँझ ५ बजेभित्र बोर्डको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
प्रमाणपत्र : सबै विषयमा कम्तीमा 'D' ग्रेड वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी शैक्षिक योग्यता पूरा गरेका विद्यार्थीले नतिजा प्रकाशन भएको १० दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल (TMP) प्रमाणपत्रका लागि तोकिएको दस्तुर बुझाई आवेदन दिन सक्नेछन्।
त्रुटि सच्याउने: नतिजामा अनुपस्थित, नतिजा स्थगित वा अन्य कुनै प्राविधिक कारणले त्रुटि देखिएमा वा विवरण फरक परेमा आवश्यक कागजातसहित ६ महिनाभित्र परीक्षा नियन्त्रण कार्यालय वा बोर्डका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।