काठमाडौँ । मर्दी हिमाल पदयात्राका क्रममा जङ्गलमा फसेका पोखराका तीन जना पदयात्रीको सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले सफल उद्धार गरेको छ।
उद्धार गरिएकाहरूमा पोखरा महानगरपालिका–१४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ रहेका छन्। उनीहरू तीनै जनालाई आज बिहान सकुशल उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) साजन श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई अन्नपूर्ण गाउँपालिका–११ स्थित छुमरुङको फेदीबाट उद्धार गरेको हो।
पदयात्राका क्रममा बाटो बिराएर जङ्गलमा अलपत्र परेका उनीहरू विगत दुई दिनदेखि फसेका थिए। उद्धारपछि उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।