काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा मापदण्ड उल्लङ्घन गर्ने १ हजार १७३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
उपत्यकाका विभिन्न स्थानमा सञ्चालित नियमित तथा विशेष चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरू कारबाहीमा परेका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६ जना, रातोबत्ती उल्लङ्घन गर्ने ५५ जना, तीव्र गतिमा सवारी चलाउने ९० जना र हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ४१ जना रहेका छन्।
यसैगरी, लेन अनुशासन पालना नगर्ने ४४ जना, सवारीसाधनको यान्त्रिक अवस्था ठिक नभएका १८ जना, एकतर्फी (वान-वे) सडकमा सवारी चलाउने ३५ जना र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने ८०४ जना चालकलाई कारबाही गरिएको छ।
त्यस्तै, सीसीटीभी क्यामेराको निगरानी (प्रविधि) मार्फत ८० जना चालकलाई नियम उल्लङ्घन गरेबापत कारबाहीको दायरामा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ।