काठमाडौं। इन्टर्न चिकित्सकहरूका माग पूरा नगरेको भन्दै ‘एमबीबीएस बीडीएस स्टाइपेन्ड एकरूपता अभियान नेपाल’का संयोजक डा. डिल्ली हरिजनले काठमाडौंको माइतीघर मण्डलामा आज मंगलबारदेखि आमरण अनशन सुरु गरेका छन्।
हरिजनले आज बिहान १०:२५ बजेदेखि माइतीघर मण्डलामा सत्याग्रह (आमरण अनशन) सुरु गरेको औपचारिक घोषणा गरेका हुन्। विगत चार महिनादेखि संयमता र धैर्यताका साथ मन्त्रालय, चिकित्सा शिक्षा आयोग, सांसदहरू तथा सरोकारवाला निकायसमक्ष आफ्ना मागहरू राख्दा पनि कुनै सुनुवाइ नभएपछि अनशनमा बस्न बाध्य भएको उनले बताए।
शिक्षा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा गठित कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार निर्णय लिन राज्य संयन्त्रले ढिलासुस्ती र गैरजिम्मेवारीपन देखाएको उनको आरोप छ। आफूहरूले कुनै अतिरिक्त सुविधा नमागेको स्पष्ट पार्दै उनले समान कामको समान पारिश्रमिक, श्रमको सम्मान र कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्ने माग राखेका छन्।
प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री तथा आयोगका पदाधिकारीहरूसँग करिब १२० दिनभन्दा बढी समयसम्म निरन्तर संवाद र प्रतीक्षा गर्दा पनि ठोस निर्णय नहुनु दुःखद भएको हरिजनले उल्लेख गरे। सरकार निजी मेडिकल कलेजहरूको दबाबमा परेकाले हजारौं इन्टर्न चिकित्सकको न्यायोचित माग अलपत्र पारिएको हो कि भन्ने प्रश्न उनले उठाएका छन्।
आफ्नो श्रम, अधिकार र सम्मानका लागि जीवन नै दाउमा लगाउनुपर्ने अवस्था आउनु लोकतान्त्रिक राष्ट्रका लागि चिन्ताको विषय भएको भन्दै उनले तत्काल कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, यस न्यायपूर्ण अभियानमा वरिष्ठ चिकित्सक, नेपाल मेडिकल एसोसिएसन (एनएमए), नेपाल मेडिकल काउन्सिल (एनएमसी), इन्टर्न चिकित्सकहरू, सञ्चारमाध्यम र सम्पूर्ण नागरिकहरूलाई ऐक्यबद्धता जनाउनसमेत उनले अपिल गरेका छन्।