काठमाडौं। ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेट विभिन्न विकास, पूर्वाधार तथा संस्कृति संरक्षणका क्षेत्रमा विनियोजन गरेको छ। वडाले पूर्वाधार विकास, लक्षित वर्ग, संस्कृति तथा सम्पदा संरक्षणलगायतका क्षेत्र समेटेर तयार पारेका करिब ७७ वटा योजना नगरसभाबाट पारित गराइसकेको जनाएको छ।
पत्रकार सम्मेलनमार्फत बजेट विवरण सार्वजनिक गर्दै वडाध्यक्ष रवीन्द्र महर्जनले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिए। उनले पूर्वाधार निर्माणसँगै खोकनाको मौलिक संस्कृति, सम्पदा र परम्पराको जगेर्नालाई विशेष प्राथमिकता दिइएको बताए।
यस वर्ष स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै वडाले नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन स्वास्थ्य बीमामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।
पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरोन्नतिलाई मुख्य प्राथमिकता दिइएको छ। योजनाअन्तर्गत खोकना दोबाटोदेखि कार्यविनायक मन्दिर जाने मूल सडक निर्माण, खोकना दोबाटोदेखि बसपार्कसम्म फुटपाथ निर्माण, ढोलाहिटी सडक ढलानका साथै सिजल, रेल, तौखल, सिकली र खोकना धनी सडक विस्तार तथा सुधारका कार्यक्रम अघि बढाइने भएका छन्।
खानेपानी व्यवस्थापनका लागि साना खोकनामा डिप बोरिङ निर्माण, पाइपलाइन विस्तार तथा पुरानो बस्तीमा खानेपानीको सहज पहुँच पुर्याउने लक्ष्य राखिएको छ। यस्तै, बागमती नदी तटबन्धन तथा भू-क्षय नियन्त्रणका लागि सिकली, दुवटी, भालुपा र नारायणघाटलगायतका क्षेत्रमा नदी नियन्त्रणसम्बन्धी काम गरिनेछ। ढल निकास व्यवस्थापनअन्तर्गत खोकना सीमा क्षेत्र, बसपार्क र घुम्ती सडक क्षेत्रमा ढल निर्माण तथा विस्तार गरिनेछ।
ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन वडाभित्रका न्ह्यौ पाटी, गाबु पाटी, कृष्ण पाटी, सिकली पाटी, गणेश पाटीलगायतका पाटी, ढुङ्गेधारा, मन्दिर, इनार तथा गुठी घरहरूको पुनर्निर्माण एवं मर्मतसम्भार गरिनेछ।
यसैगरी, कृषि क्षेत्रतर्फ मल उत्पादन र कृषि सामग्री सहयोगका कार्यक्रम बजेटमा परेका छन्। महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अन्य लक्षित वर्गका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य वडा कार्यालयले लिएको छ।