देवानगञ्ज झडपपछि सुनसरीको स्थिति नियन्त्रणमा, संयमता अपनाउन आग्रह

देवानगञ्ज झडपपछि सुनसरीको स्थिति नियन्त्रणमा,  संयमता अपनाउन आग्रह

विराटनगर। सुनसरीको देवानगञ्जमा स्थानीय दुई समूहबीच भएको झडपपछि उत्पन्न तनावग्रस्त स्थिति विस्तारै सामान्यतर्फ उन्मुख भएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएको थियो।

उक्त हिंसात्मक झडपलाई साम्य पार्ने क्रममा सुरक्षा फौजका १५ जना र स्थानीय ११ जना गरी कुल २६ जना घाइते भएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिएका छन्।

झडपपछि देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, लौकही तथा सदरमुकाम इनरुवाजस्ता आसपासका क्षेत्रमा तोडफोड र आगजनीका घटना बढेपछि स्थानीय प्रशासनले थप क्षति हुन नदिन ती क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको थियो।

सुरक्षा निकायको बाक्लो उपस्थिति र निरन्तरको गस्तीपछि हाल घटनास्थल र आसपासका क्षेत्रको अवस्था पूर्ण नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्र खड्काले स्पष्ट पारेका छन्।

अहिले मुख्य क्षेत्रहरू शान्त बने पनि जिल्लास्थित पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फका केही स्थानीय बजार भने अझैसम्म बन्द नै रहेका छन्।

स्थिति सामान्य बन्दै गएसँगै जनजीवनलाई सहज बनाउन र शान्ति सुव्यवस्था सुदृढ पार्न जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा सर्वपक्षीय छलफल तथा बैठक सम्पन्न भएको छ।

स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्दै शान्ति सुरक्षा सुदृढ बनाउन र कसैको बहकाउमा नपरी संयमता अपनाउन जिल्लाका सर्वसाधारण तथा सरोकारवाला सबै पक्षसँग विशेष आग्रह गरेको छ।

छुटाउनुभयो कि ?