काठमाडौं।माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने भीषण डुबानको मुख्य कारण पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको एक प्राविधिक प्रतिवेदनले देखाएको छ।
असार-साउनको झरीसँगै माइतीघर क्षेत्र जलमग्न हुन थालेपछि गत साउन ५ गते काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा विकास साझेदार तथा सेवा व्यवस्थापन निकायका प्रमुखहरूको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको थियो। अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलको निर्देशनमा गठित प्राविधिक टोलीले अध्ययन गरी उक्त प्रतिवेदन तयार पारेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिमा काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन रेग्मी, सडक विभागका इन्जिनियर पुरुषोत्तम भण्डारी र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ सदस्य रहेका थिए।
ढल निकासमा ‘बोटलनेक’ र टुकुचाको उल्टो बहाव
प्रतिवेदनअनुसार माइतीघर क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि फेला परेको छ। माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको पाइप राखिएको छ, तर तल्लो भागमा पुगेपछि सो ढल खुम्चिएर ६० सेन्टिमिटरमा साँघुरिएको छ। माथिल्लो भागबाट तीव्र चापमा आउने पानीलाई तल्लो भागको साँघुरो पाइपले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा ओभरफ्लो हुने गरेको छ।
यसका साथै, वर्षामा टुकुचा खोलाको सतह बढ्दा ढलको पानी खोलामा खस्नुको साटो उल्टै बस्ती र सडकतर्फ फर्कने (ब्याक फ्लो) भएकाले पनि समस्या झन् जटिल बनेको प्रतिवेदनमा उल्लेख छ।
खुला क्षेत्रमा कंक्रिट र अतिक्रमणको मार
भौतिक पूर्वाधारका अलावा तीव्र सहरीकरण र वातावरणीय विनाशलाई पनि डुबानको प्रमुख कारण मानिएको छ। विगतमा माइतीघर चोक आसपासका खुला क्षेत्रहरूले प्राकृतिक जलाधारका रूपमा काम गर्दै वर्षाको पानी जमिनमुनि सोस्ने गर्थे। तर, अहिले ती क्षेत्रहरूमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालयलगायतका ठूला कंक्रिट भवन निर्माण भएपछि पानी सोसिने प्रक्रिया ठप्प भएको छ। जसका कारण सतहमा बग्ने सम्पूर्ण पानी सिधै माइतीघर चोकमा थुप्रिने गरेको छ।
त्यस्तै, ढलमाथिको अतिक्रमण र अव्यवस्थित फोहोर पनि डुबानको कारक बनेको छ। कतिपय स्थानमा ढलमाथि नै सरकारी तथा व्यक्तिगत संरचना निर्माण भएकाले नियमित सरसफाइमा अवरोध पुगेको छ। ढलका पाइपभित्र प्लास्टिकजन्य फोहोर, बोतल, ढुङ्गा र गिट्टी थुप्रिँदा पानीको प्राकृतिक बहाव पूर्ण रूपमा रोकिन पुगेको प्राविधिक टोलीको निष्कर्ष छ।