खारे खोलाले जमिन कटान गरेपछि दोलखाको लोगटा बस्तीका १५ घर उच्च जोखिममा, विस्थापितलाई सुरक्षित स्थानमा सारियो

खारे खोलाले जमिन कटान गरेपछि दोलखाको लोगटा बस्तीका १५ घर उच्च जोखिममा, विस्थापितलाई सुरक्षित स्थानमा सारियो

रामेछाप। अविरल वर्षापछि आएको बाढीका कारण खारे खोलाले तीव्र रूपमा जमिन कटान गरेपछि दोलखाको गौरीशङ्कर गाउँपालिका–८ खारेस्थित लोगटा बस्ती उच्च जोखिममा परेको छ। कटानका कारण बस्तीका करिब १० घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ।

स्थानीय रवीन्द्र सुरेलका अनुसार १४ देखि १५ घरधुरी रहेको उक्त बस्तीका अधिकांश घरहरू पहिरो र कटानको जोखिममा छन्। लगातार जमिन भासिने र कटान हुने क्रम बढेपछि स्थानीय पहलबहादुर तमाङ, धनबीर तमाङ र रत्नबहादुर तमाङले आफ्नो घर छोडिसकेका छन्। उनीहरूलाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको छ। यसैगरी बुद्धिमान तमाङ, आरतबहादुर तमाङ र दिनेश तमाङका घरहरू पनि प्रत्यक्ष जोखिममा परेकाले उनीहरूलाई पनि अविलम्ब स्थानान्तरण गर्नुपर्ने अवस्था छ।

नदी किनारभन्दा केही माथिल्लो भागमा रहेका भक्तबहादुर तमाङ, धनबहादुर तमाङ र वीरबहादुर तमाङका घरसमेत सुरक्षित नरहेकाले ठूलो वर्षा हुँदा अन्यत्रै शरण लिनुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्।

गौरीशङ्कर गाउँपालिका–८ का वडाध्यक्ष दावारेन्जी शेर्पाका अनुसार बाढी प्रभावित र जोखिममा परेका परिवारका लागि सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सक्रियतामा अस्थायी टहरा निर्माण गरी सुरक्षित बासको व्यवस्था मिलाइएको छ। हाल जोखिममा रहेका धेरैजसो परिवारहरू आफन्तकोमा आश्रय लिएर बसिरहेका छन्।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै गाउँपालिका अध्यक्ष विश्वास कार्कीसहितको जनप्रतिनिधिको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। वडाध्यक्ष शेर्पाले गाउँपालिका र वडा कार्यालयको संयुक्त पहलमा तत्काल राहत, अस्थायी टहरा निर्माण तथा अन्य आवश्यक व्यवस्थापन भइरहेको र पूर्वतयारी पूरा भएपछि उनीहरूलाई स्थायी रूपमै सुरक्षित स्थानमा स्थानान्तरण गरिने जानकारी दिएका छन्।

छुटाउनुभयो कि ?