काठमाडौँ। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका सात वटा प्रमुख राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन् भने १२ वटा राजमार्ग आंशिक रूपमा मात्र सञ्चालन भइरहेका छन्।
सडक विभागका अनुसार अवरुद्ध भएकामध्ये ५१ वटा सडकखण्डहरू भने मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् र बाँकी रहेका सडकहरू सञ्चालनमा ल्याउन तीव्र रूपमा काम भइरहेको छ।
सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरो पन्छाउन र मर्मत कार्यका लागि सम्बन्धित स्थानहरूमा डोजर, एक्साभेटर तथा लोडरलगायतका उपकरणहरू परिचालन गरिएको जानकारी दिएका छन्।
मनसुन अवधिभर जोखिमयुक्त सडकखण्डहरूमा निरन्तर निगरानी राखिएको र अवरुद्ध सडकहरू यथाशीघ्र खोल्न आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएकाले यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।
नेपाल प्रहरीका अनुसार ललितपुरस्थित कान्ति लोकपथ, इलामको मेची राजमार्ग, खोटाङको दिक्तेल-भोजपुर सडकखण्ड, सिन्धुपाल्चोकको तातोपानी जाने बाटो (भोटेकोशी गाउँपालिका-४ जुरिखोला) तथा अरनिको राजमार्ग (भोटेकोशी-२ कोदारी) पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। त्यसैगरी, भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र रसुवाको पासाङल्हामु सडकखण्ड भने एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।
बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बीपी राजमार्ग र मकवानपुरस्थित कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। बीपी राजमार्गमा भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था हेरेर सवारी साधन सञ्चालन गर्न दिने व्यवस्था मिलाइएको छ।