श्रम शोषणको विरोधमा माइतीघरमा चिकित्सकहरूको प्रदर्शन: श्रम ऐन कार्यान्वयन र पारिश्रमिक वृद्धिको माग

श्रम शोषणको विरोधमा माइतीघरमा चिकित्सकहरूको प्रदर्शन: श्रम ऐन कार्यान्वयन र पारिश्रमिक वृद्धिको माग

काठमाडौं। विभिन्न अस्पतालमा कार्यरत प्रशिक्षार्थी चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समितिको नेतृत्वमा उत्रिएका प्रदर्शनकारीहरूले आफ्नो कार्यसमयलाई श्रम ऐन, २०७४ अनुसार व्यवस्थित गर्न सरकारसँग जोडदार माग गरेका छन्।

आन्दोलनरत चिकित्सकहरूले नेपालको श्रम ऐनको व्यवस्था अनुरूप आफूहरूलाई दैनिक अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी काममा नलगाउन तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्। यसका साथै, हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएको खण्डमा नियमानुसार अतिरिक्त समय अर्थात् ओभरटाइम भत्ता उपलब्ध गराउनुपर्ने उनीहरूको अडान छ।

पारिश्रमिकको विषयलाई लिएर प्रदर्शनकारी चिकित्सकहरूले नेपाल सरकारले बजेट भाषणमार्फत वृद्धि गरेको तलब र विगतमा भएका सहमतिहरू अक्षरशः पालना हुनुपर्ने बताएका छन्। उनीहरूले आवासीय चिकित्सकहरूलाई सरकारी सेवाको अधिकृत आठौँ तहसरहको पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन्।

यसैगरी, चिकित्सा शिक्षातर्फ एमबीबीएस र बीडीएसको अध्ययन पूरा गरेपछि एमडी, एमएस तथा एमडीएस तहको उच्च शिक्षा अध्ययन गर्नका लागि राखिएको एक वर्षे अनिवार्य कार्यअनुभवको प्रावधान पूर्ण रूपमा खारेज हुनुपर्ने उनीहरूको भनाइ छ। माइतीघरमा भेला भएका चिकित्सकहरूले आफ्ना यी मागहरू राज्यले अविलम्ब सम्बोधन नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।

छुटाउनुभयो कि ?