सांस्कृतिक र औषधीय महत्व बोकेको साउने सङ्क्रान्ति: देशभर लुतो फाल्ने र शिव आराधना गर्नेको चहलपहल

सांस्कृतिक र औषधीय महत्व बोकेको साउने सङ्क्रान्ति: देशभर लुतो फाल्ने र शिव आराधना गर्नेको चहलपहल

काठमाडौँ, १ साउन – सौरमासअनुसार प्रत्येक वर्षको साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा परम्परागत विधिअनुसार पूजा–आराधना गरी उत्साहका साथ मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यसलाई कर्कट सङ्क्रान्ति पनि भन्ने प्राचीन परम्परा छ।

आजकै दिनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले वैदिक सनातन परम्परामा विशेष स्थान पाएको दक्षिणायनको समेत विधिवत् सुरुवात भएको छ। सनातन संस्कृतिमा माघ १ गते सुरु हुने उत्तरायण जस्तै साउन १ गते सुरु हुने दक्षिणायनलाई पनि निकै महत्वपूर्ण पर्वका रूपमा लिइने गरिन्छ।

यो पर्व नेपाली समाजको कृषि जीवन र जनस्वास्थ्यसँग समेत निकै नजिकबाट जोडिएको छ। असार महिनाभर मानो रोपेर मुरी उब्जाउने चटारोमा हिलोमैलोसँग पौंठेजोरी खेलेका नेपालीहरूले हिलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोग र एलर्जीबाट मुक्ति पाउन आजको दिन लुतो फाल्ने गर्दछन्।

औषधीय गुणले युक्त वनस्पतिहरू जस्तै काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नासपाती आदि संकलन गरेर कण्डारक नाम गरेको राक्षसको पूजा गरी आगोको अगुल्टो फाल्ने विशिष्ट चलन छ। लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र घरका ढोकाहरू बन्द गर्ने रोचक सामाजिक प्रचलन नेपाली समाजमा अझैसम्म जिवन्त रहेको छ।

यसैगरी साउन महिनालाई हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको विशेष पूजा–आराधना गर्ने पवित्र महिनाका रूपमा लिने गर्दछन्। यस अवधिमा विशेषगरी महिलाहरूले हरियो चुरा तथा हरियो कपडा पहिरिएर प्रकृतिप्रतिको सामीप्यता र सम्मान प्रकट गर्ने गर्दछन्।

देवादिदेव भगवान् शिवको प्रिय महिना भएकाले आज साउने सङ्क्रान्तिको पहिलो दिनदेखि नै काठमाडौँको प्रसिद्ध पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका विभिन्न शिवालयहरूमा भक्तजन तथा दर्शनार्थीहरूको उल्लेख्य घुइँचो लागेको छ।

छुटाउनुभयो कि ?