काठमाडौं। स्वदेशी उत्पादनको उचित बजार मूल्य नपाएको र लागतसमेत नउठेको भन्दै आक्रोशित किसानहरूले बुधबार बिहान काठमाडौँको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर आक्रामक प्रदर्शन गरेका छन्।
काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट बिहानै माइतीघरमा भेला भएका किसानहरूले सडकमै गोलभेँडा पोखेर राज्यको कृषि नीतिको विरोध गरेका हुन्।
प्रदर्शनमा उत्रिएका किसानहरूले स्वदेशी कृषि उपजको उचित मूल्य निर्धारण गरिनुपर्ने र किसान तथा उपभोक्ता दुवैलाई ठग्ने सक्रिय बिचौलिया संयन्त्रलाई तत्काल हटाउनुपर्ने लगायतका मागहरू अघि सारेका छन्।
दिनरात पसिना बगाएर उत्पादन गरेको फसल बजारमा कौडीको भावमा पनि बिक्न छाडेपछि सांकेतिक रूपमा सरकारको ध्यानाकर्षण गराउन सडकमा गोलभेँडा फाल्नुपरेको उनीहरूको भनाइ छ।
विशेषगरी छिमेकी मुलुक भारतबाट पछिल्लो समय बिनाकुनै अवरोध ठुलो परिमाणमा सस्तो गोलभेँडा आयात भइरहेका कारण नेपाली किसानले उत्पादन गरेको गोलभेँडाले आन्तरिक बजार पाउन छाडेको आन्दोलनकारी किसानहरूले बताएका छन्।
ढुवानी र विषादी परीक्षण बिना भित्रिने विदेशी उत्पादनका कारण स्वदेशी कृषि धराशायी बनेको र बजारमा बिचौलियाहरूको दबदबा हुँदा वास्तविक किसानहरू ऋणको दलदलमा फसिरहेको भन्दै उनीहरूले तत्काल भारतीय आयातमा कडाइ गर्न र नेपाली उत्पादनको संरक्षण गर्न सरकारसँग माग गरेका छन्।