काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा बिहीबार दिउँसो भएको एउटा हृदयविदारक घटनाले नेपाली समाजको संवेदनालाई फेरि एकपटक क्षतविक्षत बनाएको छ। विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएपछि पुरानो सामाजिक घाउ ब्युँझिएको छ।
गणेश मात्र नभई त्यसपछिका दिनमा पनि अन्य दुई जनाले आत्मदाहको प्रयास गरेपछि समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको छ। आखिर एउटा ऊर्जावान् युवा आफ्नै शरीरमा आगो लगाउने आत्मघाती तहसम्म किन पुग्छ भन्ने बहस चार वर्षअघि नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दा पनि उठेको थियो। व्यापार डुबेको, ऋणले थिचेको र राज्यबाट न्याय नपाएको पीडा फेसबुकमा सार्वजनिक गर्दै आचार्यले जीवन अन्त्य गर्दा केही दिन देश रोयो, छानबिन समिति बन्यो र नेताहरूले संसद्मा दुःख व्यक्त गरे। तर, समयसँगै त्यो पीडा सेलाएर गयो र आज गणेशको घटनाले त्यही संवेदनशील घाउलाई फेरि उजागर गरिदिएको छ।
काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत गणेश नेपाली बिहीबार बिहान सामान्य अवस्थामै आफ्नो काममा निस्किएका थिए। विभाग अगाडि मोटरसाइकल पार्क गर्न खोज्दा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले ‘ह्विल लक’ लगाइदिएपछि नगर प्रहरी र ट्राफिक प्रहरीसँग उनको भनाभन र विवाद भएको थियो। प्रत्यक्षदर्शीका अनुसार उनले लक नलगाइदिन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आक्रोश र चरम मानसिक तनावमा आएर उनले आत्मदाहको बाटो रोजेका थिए।
सरकारले घटनाको छानबिनका लागि समिति गठन गरेको छ भने तीन नगर प्रहरीमाथि सोधपुछ भइरहेको छ। तर, मूल प्रश्न अझै अनुत्तरित छ– के केवल ह्विल लक मात्रै आत्मदाहको मुख्य कारण थियो? २५ वर्षको एक नवजवान युवा घरपरिवार र सारा संसार बिर्सेर राज्यको केन्द्रीय निकाय अगाडि दनदनी दन्किएको आगोमा तड्पिँदै प्राण त्याग्न किन बाध्य हुन्छ भन्ने विषय निकै गम्भीर छ।
बितेको एक सातामा काठमाडौँदेखि तराईसम्म देखिएका आत्मदाहका दृश्यहरूले सिंगो मुलुकलाई स्तब्ध बनाएको छ। चालु आर्थिक वर्षको असार २७ गतेसम्म मात्रै देशभर ११ जनाले आत्मदाह र त्यसको प्रयास गरिसकेका छन्, जसमा आठ जनाले ज्यान गुमाएका छन् भने तीन जना अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा जीवन र मरणको दोसाँधमा छन्।
पछिल्ला घटनाका पात्रहरू र उनीहरूको पृष्ठभूमि फरक देखिए पनि उनीहरूले भोगेको मानसिक र आर्थिक संकट भने लगभग समान छ। मुगुका गणेश हुन् वा सर्लाहीका विवेक मण्डल या काठमाडौँका अश्विन राउत, उनीहरू सबै वित्तीय चक्र र राज्यको उदासीनताको मारमा परेका साझा पीडित हुन्। तराई–मधेसमा व्याप्त बेरोजगारीका कारण महोत्तरीको एक विद्यालयबाट शिक्षकको जागिर खोसिएपछि निराश बनेका सर्लाही, गोडैताका ३५ वर्षीय विवेक मण्डलले ३५ लाख रुपैयाँको ऋणको भार सहन नसकी शुक्रबार आत्मदाहको प्रयास गरे। ८५ प्रतिशत शरीर जलेका उनलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याएर कीर्तिपुर बर्न अस्पतालको आइसियुमा उपचार भइरहेको छ।
यसैगरी, शनिबार काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा आत्मदाह प्रयास गर्ने ५० वर्षीय अश्विनकुमार राउतको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। सिराहाको लहान स्थायी घर भई क्षेत्री सेवा समाजको अध्यक्षसमेत रहेका राउतले सञ्चालन गर्दै आएको सुपर वायर एण्ड स्टिल इण्डस्ट्रियल प्रालि र दिव्यश्री ट्रेड कन्सर्न प्रालि धराशायी भएपछि उनी केही महिनादेखि अत्यधिक मानसिक तनावमा थिए।
नदी किनारामा प्रयोग हुने तारजाली उत्पादन र चीनबाट फ्रिज, पंखाजस्ता सामान आयात गर्ने उनको व्यवसाय ठप्प भएपछि ललितपुरको भैँसेपाटीमा रहेको जग्गा बेचेर ऋण तिर्न खोज्दा पनि जग्गा बिक्री नभएपछि उनी निराश बनेका थिए। शनिबार श्रीमती र छोरा घरमा नभएको मौका छोपी उनले आत्मदाह गरेका हुन्। प्रहरीले पारिवारिक विवादको प्रारम्भिक अनुमान गरे पनि पारिवारिक स्रोतले भने व्यवसाय डुब्नु र ऋणको दबाब नै मुख्य कारण भएको प्रष्ट पारेको छ।
गणेश नेपाली र अश्विन राउतको मृत्युले अहिले संसद्देखि सडकसम्म तातेको छ। संसद्मा विपक्षी दलहरूले नागरिकको निराशा र मृत्युको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेका छन् भने सत्तापक्षकै सांसदहरूले पनि यसलाई सामान्य रूपमा लिन नहुने धारणा राखेका छन्।
रास्वपाका सांसद गणेश कार्कीले सरकार जोगाउने खेलभन्दा मान्छेको ज्यान ठुलो भएको भन्दै संसद्मा कडा प्रतिवाद गरेका छन् भने सांसद रञ्जु दर्शना न्यौपानेले सरकार केवल उपचार खर्च व्यहोर्ने कार्यमा मात्र सीमित हुन नहुने र नागरिक निराशाको यो बिन्दुसम्म पुग्नुको कारण खोज्नुपर्ने बताएकी छन्। त्यस्तै सांसद राजीव खत्रीले यो घटना राज्य र समाजको संवेदनाको परीक्षा भएको टिप्पणी गरे पनि प्रधानमन्त्रीले भने अहिलेसम्म यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।
विगतमा प्रेमप्रसाद आचार्यको आत्मदाह हुँदा सडक र सदनबाट सरकारको कडा आलोचना गर्ने प्रधानमन्त्री र रास्वपाका सभापति रवि लामिछानेजस्ता नेतृत्वकर्ताहरू अहिले सत्तामा रहँदा मौन बसेको भन्दै सामाजिक सञ्जालमा उनीहरूको तीव्र खोजी र आलोचना सुरु भएको छ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असार २७ गतेसम्म देशभर भएका ११ वटा आत्मदाहका घटनामध्ये काठमाडौँमा सबैभन्दा धेरै चारवटा घटना भएका छन्। यसबाहेक रौतहट, बाँके, रूपन्देही, दाङ, काभ्रे र सर्लाहीमा पनि यस्ता आत्मघाती प्रयासहरू भएका छन्। यी ११ घटनामध्ये सातवटा घटनामा महिला र चारवटा घटनामा पुरुष संलग्न रहेका छन्।
जिल्लागत विवरणअनुसार रौतहटमा एक महिला र एक पुरुष, काठमाडौँमा दुई महिला र दुई पुरुष, बाँके र रूपन्देहीमा एक/एक महिला, काभ्रेमा दुई महिला तथा दाङ र सर्लाहीमा एक/एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन्। काभ्रे, सर्लाही र काठमाडौँमा उपचाररत तीन जना बाहेक अन्य सबै आठ जनाको मृत्यु भइसकेको छ।
फरक-फरक जिल्ला र पृष्ठभूमिमा भएका यी घटनाहरूले नेपाली समाजमा गहिरिँदै गएको आर्थिक मन्दी, बेरोजगारी, ऋणको चक्र र मानसिक स्वास्थ्यको विकराल रूपलाई छर्लङ्ग पारेका छन्, जसलाई सम्बोधन गर्न राज्यले तत्काल विशेष नीति र राहतको प्याकेज ल्याउनु अनिवार्य भइसकेको छ।