काठमाडौंमा गुड्ने आधाभन्दा बढी सवारीसाधन प्रदूषण परीक्षणमा असफल, २० वटामाथि कारबाही

काठमाडौंमा गुड्ने आधाभन्दा बढी सवारीसाधन प्रदूषण परीक्षणमा असफल, २० वटामाथि कारबाही

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार काठमाडौंमा सवारीसाधनको विशेष प्रदूषण परीक्षण गरेका छन्।

बबरमहलस्थित सडक विभाग अगाडि गरिएको उक्त आकस्मिक जाँचका क्रममा ३८ वटा सवारीसाधनको परीक्षण गर्दा ५२.६४ प्रतिशत अर्थात् २० वटा सवारीसाधनले सरकारले तोकेको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको छ।

वातावरण विभागका उपनिर्देशक सरोजकुमार चौधरीका अनुसार प्रदूषण मापदण्ड उल्लंघन गर्ने ती २० वटा सवारीसाधनलाई नियन्त्रणमा लिई तत्कालै प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।

वायु प्रदूषण न्यूनीकरण गर्ने, सवारीसाधनबाट निस्कने धुवाँको मात्रा नियन्त्रण गर्ने तथा नगरवासीका लागि स्वच्छ वातावरण सुनिश्चित गर्ने उद्देश्यले यो संयुक्त टोलीले सडकमा नै ओर्लिएर प्रदूषण परीक्षण सञ्चालन गरेको विभागले जनाएको हो।

काठमाडौँ उपत्यकामा सवारीसाधनबाट उत्सर्जन हुने धुवाँ वायु प्रदूषणको प्रमुख स्रोतका रूपमा रहेकाले यसको नियन्त्रणलाई प्रभावकारी बनाउन यस्ता संयुक्त आकस्मिक चेकिङलाई निरन्तरता दिइएको सुरक्षा निकाय र विभागको भनाइ छ।

मन्त्रालयले वातावरण जोगाउने यस अभियानमा सहयोग गर्न सम्पूर्ण सवारीधनीलाई आफ्नो सवारीसाधनको समयमै मर्मत–सम्भार गर्न, नियमित रूपमा प्रदूषण परीक्षण गराई हरियो स्टिकर लिन तथा तोकिएको वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।

वातावरण विभागले आगामी दिनमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता प्रदूषण परीक्षणलाई थप आक्रामक रूपमा निरन्तरता दिँदै मापदण्ड उल्लंघन गर्ने सवारीसाधनमाथि कडा कानूनी कारबाही गरिने चेतावनी दिएको छ।

छुटाउनुभयो कि ?