काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा आउने सेवाग्राहीको सहजता र पहुँच सुनिश्चित गर्न आजदेखि ह्वीलचेयर सेवा सञ्चालनमा ल्याएको छ। सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउने उद्देश्यले मन्त्रालयले यो नयाँ पहल सुरु गरेको हो।
शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक तथा आवश्यकताअनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयको सम्पूर्ण परिसरभित्र यो सेवा उपलब्ध गराइएको छ। अब मन्त्रालयमा आउने लक्षित सेवाग्राहीले आवश्यकता अनुसार ह्वीलचेयरको प्रयोग गरी सहज र सुरक्षित रूपमा आफ्नो काम सम्पन्न गर्न सक्नेछन्।
मन्त्रालयमा आउने हरेक नागरिकलाई सम्मानजनक वातावरण प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस व्यवस्थाले शारीरिक कठिनाइ भएका व्यक्तिको सेवामा पहुँच बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।
नेपाल सरकारको समावेशी शासन, समान पहुँच र नागरिकमैत्री सेवा प्रवाहको मूल प्रतिबद्धताअनुरूप मन्त्रालयले यो कदम अघि बढाएको जनाएको छ। साथै, आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै सेवा प्रवाहमा थप परिमार्जन र सुधारका कार्यक्रमहरू ल्याइने मन्त्रालयले उल्लेख गरेको छ।