काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती गरेसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित प्रणालीअनुरूप सार्वजनिक सवारीसाधनको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।
निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाउने निर्णय गरेलगत्तै व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन्। महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्यमा आउने उतारचढावका आधारमा भाडादरलाई पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत रूपमा परिमार्जन गरिनुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष सिटौलाका अनुसार इन्धनको मूल्य बढ्दा तत्काल भाडा वृद्धि हुने तर मूल्य घट्दा समयमै भाडा समायोजन नहुने परिपाटीले गर्दा आम यात्रु र यातायात व्यवसायी दुवै पक्षमा अनावश्यक अन्योल र असन्तुष्टि सिर्जना गर्ने गरेको छ। यसैले बजारको वास्तविकतालाई सम्बोधन गर्न सरकारले तुरुन्तै कदम चाल्नुपर्ने व्यवसायीहरूको भनाइ छ।
यसका साथै महासंघले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्यलाई मात्रै नहेरी समग्र पक्षको मूल्यांकन गरिनुपर्ने माग समेत अघि सारेको छ। सवारीसाधन सञ्चालन गर्दा लाग्ने खर्च, नियमित मर्मतसम्भार, बीमा शुल्क, यातायात श्रमिकहरूको पारिश्रमिक, बजारमा सवारीका पाटपूर्जाको मूल्य, बैंकिङ ब्याजदर तथा मुलुकको समग्र आर्थिक सूचकहरूलाई वैज्ञानिक आधार मानेर मात्र दीर्घकालीन र व्यावहारिक भाडादर कायम गरिनुपर्ने अध्यक्ष सिटौलाले बताएका छन्।