काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइएको आरोप लगाउँदै यस मन्त्रालयलाई सधैं ‘टुहुरो र वेवारिसे’ का रूपमा व्यवहार गरिएको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन्।
धेरै मानिसहरूले यस मन्त्रालयलाई नयाँ भनेर बुझिरहेको भए तापनि यो २०५३ सालमै स्थापना भएको उनले स्पष्ट पारे। विगतमा विभिन्न समयमा कहिले एउटा त कहिले अर्को मन्त्रालयसँग जोड्ने काम गरिएको स्मरण गराउँदै मन्त्री पुनले २०७५ सालमा यसलाई शिक्षा मन्त्रालयसँग गाभिएर वेवारिसे बनाइएको बताए। हाल यसले पुनर्जन्म पाएको उल्लेख गर्दै उनले यसलाई मन्त्रालयको ‘सातौँ पुर्नजन्म’को संज्ञा दिएका छन्।
भागबण्डाको राजनीति र अत्यधिक राजनीतिकरणका कारण यसअघि यो मन्त्रालय सधैं हेला गरिएको भए पनि वर्तमान सरकारले यसलाई फेरि छुट्टै नयाँ मन्त्रालयका रूपमा स्थापित गरेको उनको भनाइ छ।
आफ्नो राजनीतिक यात्राका बारेमा बोल्दै मन्त्री पुनले आफू कुनै व्यक्तिगत महत्वाकांक्षाका कारण नभई देशप्रतिको अथाह माया र जिम्मेवारीबोधका कारण सांसद र मन्त्री बनेको स्पष्ट पारे।
अमेरिकाबाट केही समयका लागि घुम्न मात्रै गाउँ आएको व्यक्ति भए तापनि सुरुमा गाउँ, त्यसपछि जिल्ला र अन्ततः पूरै देशसँग माया बसेकाले आफू यो स्थानमा आइपुगेको उनले बताए। मन्त्री पुनले आगामी दिनमा विज्ञान, प्रविधि र नवप्रवर्तनको द्रुत विकासमार्फत देशको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।