काठमाडौं। सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल रु १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ।
महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार सरकारले चालु आर्थिक वर्षभरिमा १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि ११ महिनाको अवधिमा वार्षिक लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै प्रगति हासिल हुन सकेको हो। यसले आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहँदा सरकारलाई लक्ष्य भेट्टाउन निकै सकस पर्ने देखिएको छ।
मुख्यत: कर राजस्वतर्फ सरकारले रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख सङ्कलन गर्ने लक्ष्य राखेकोमा समीक्षा अवधिमा लक्ष्यको ७४ दशमलव ०३ प्रतिशत अर्थात् रु ९ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख मात्र सङ्कलन भएको छ। त्यस्तै गैरकर राजस्वतर्फ पनि रु १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाखको वार्षिक लक्ष्य राखिएकोमा हालसम्म लक्ष्यको ६४ दशमलव ७३ प्रतिशत अर्थात् रु ९९ अर्ब ९४ करोड ६९ लाख मात्र राजस्व उठेको छ।
राजस्वका अन्य स्रोतका अतिरिक्त वैदेशिक अनुदान प्राप्तिमा समेत सरकारको अवस्था कमजोर देखिएको छ। चालु आवमा रु ५३ अर्ब ४४ करोड ६९ लाख अनुदान ल्याउने लक्ष्य राखिएकामा ११ महिनामा लक्ष्यको जम्मा ४२ दशमलव ८२ प्रतिशत अर्थात् रु २२ अर्ब ८८ करोड ५९ लाख मात्रै सङ्कलन हुन सकेको विवरणले देखाउँछ।