काठमाडाैं। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा बिहीबार दिउँसो एक यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बनेपाबाट रोशी गाउँपालिकातर्फ गइरहेको बा २ ख ८३९८ नम्बरको बस दिउँसो करिब सवा दुई बजे सडकबाट करिब दुई सय मिटर तल खसेर गम्भीर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी बसका चालकसहित १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टका अनुसार घाइते सबैको उपचार अहिले धुलिखेल अस्पतालमा भइरहेको छ । घटनाको विस्तृत विवरण र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।