दुई समस्याग्रस्त सहकारीका १३२ ऋणीको नामावली सार्वजनिक, ऋण चुक्ता नगरे कडा कारबाही गर्ने व्यवस्थापन समितिको चेतावनी

दुई समस्याग्रस्त सहकारीका १३२ ऋणीको नामावली सार्वजनिक, ऋण चुक्ता नगरे कडा कारबाही गर्ने व्यवस्थापन समितिको चेतावनी

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित ‘हाम्रो नयाँ कृषि’ र ‘कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ का १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिको हालै बसेको बैठकको निर्णयानुसार ती दुवै सहकारीबाट ऋण लिएर लामो समयदेखि चुक्ता नगर्ने ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको सूचीमध्ये हाम्रो नयाँ कृषि सहकारी संस्थाका १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका १२० जना ऋणीहरू रहेका छन्।

समितिको कार्यालयले उपलब्ध गराएको ऋण श्रेस्ता र विवरणका आधारमा यो नामावली तयार पारेर सार्वजनिक गरिएको स्पष्ट पारेको छ। यस प्रक्रियाका क्रममा साविकमा नै आफ्नो ऋण पूर्ण रूपमा चुक्ता गरिसकेका तर प्राविधिक वा अभिलेखीय कारणले नामावलीमा नाम समावेश हुन पुगेका व्यक्तिहरूलाई उचित प्रमाण तथा कागजातसहित यथाशीघ्र समितिको कार्यालयमा उपस्थित हुन समेत आग्रह गरिएको छ।

त्यसैगरी, हालसम्म पनि ऋण तिर्न बाँकी रहेका सम्पूर्ण ऋणीहरूलाई समितिको कार्यालयमा अविलम्ब सम्पर्क गरी आफ्नो दायित्वअनुसारको ऋण चुक्ता गर्न कडा निर्देशन दिइएको छ। तोकिएको समयभित्र सम्पर्कमा नआई ऋण तिर्न आनाकानी गरेमा प्रचलित सहकारी ऐन तथा बैंकिङ कसुरसम्बन्धी कानुनअनुसार जायजेथा रोक्का, कालोसूचीमा समावेश गर्ने लगायतका कानुनी असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।

सर्वसाधारण बचतकर्ताहरूको अर्बौँ रुपैयाँ हिनामिना गरी सञ्चालकहरू फरार भएपछि सरकारले यी सहकारीहरूलाई समस्याग्रस्त घोषणा गरेको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो समय सर्वसाधारणको फसेको रकम फिर्ता गराउने, सहकारीको सम्पत्ति व्यवस्थापन गर्ने तथा पीडित बचतकर्ताहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूमाथि निगरानी बढाउँदै यो विवरण सार्वजनिक गर्ने कदम चालेको हो।

हेर्नुहोस् ऋणीहरू-

छुटाउनुभयो कि ?