काठमाडौं। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो मनोनयन सूची (म्याचिङ लिस्ट) सार्वजनिक गरेको छ।
महानगरपालिकाले लिएको छात्रवृत्ति छनोट परीक्षाको अन्तिम योग्यता क्रम, विद्यार्थीले रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकताका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णयअनुसार ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरिएको हो। मनोनयनमा परेका परीक्षार्थीहरूले महानगरपालिकाको छात्रवृत्ति सम्बन्धी पोर्टल (entrance.kathmandu.gov.np) मा गएर आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी मनोनयन पत्र प्रिन्ट गर्न सक्नेछन्।
परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार विद्यार्थीहरूले उक्त मनोनयन पत्र लिएर जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्नेछ। तोकिएको समयसीमा भित्र भर्ना नभएमा छात्रवृत्तिमा अध्ययन गर्ने दाबी स्वतः रद्द हुने र मनोनयन भएको शिक्षण संस्था पछि परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ।
प्रकाशित पहिलो सूची अनुसार सबैभन्दा बढी विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थीहरू सिफारिस भएका छन्। जसमध्ये विज्ञान विषयमा २ हजार २६६ जना, व्यवस्थापनमा १ हजार ४०१ जना, कानुनमा ५० जना, मानविकीमा १२ जना र शिक्षा विषयमा ६ जना विद्यार्थी भर्नाका लागि योग्य ठहरिएका छन्।
यस वर्ष विभिन्न वर्ग र समुदायका लागि छुट्याइएको आरक्षण तथा समूहगत कोटा अन्तर्गत पनि ठूलो संख्यामा विद्यार्थीहरू सिफारिसमा परेका छन्। जसमध्ये सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गर्ने १ हजार ५४५ जना र संस्थागत विद्यालयबाट उत्तीर्ण गर्ने ४८१ जना रहेका छन्।
यस्तै, महानगरपालिकाका रैथाने स्थायी बासिन्दा ४९२ जना, छात्रा कोटाबाट ४४० जना, खस आर्यबाट १९७ जना, आदिवासी जनजातिबाट १७३ जना, मधेसीबाट १४९ जना, र दलित कोटाबाट ९६ जना विद्यार्थी सिफारिस भएका छन्।
पिछडिएको क्षेत्रबाट ४६ जना, थारुबाट ३९ जना, ल्याण्डफिल साइट प्रभावित क्षेत्रबाट २८ जना, मुस्लिमबाट २२ जना, सहिद, बेपत्ता, जनआन्दोलन तथा द्वन्द्वपीडित परिवारबाट १४ जना र अपाङ्गता भएका व्यक्ति वा परिवारबाट १३ जना विद्यार्थीले छात्रवृत्तिका लागि स्थान सुरक्षित गरेका छन्।
शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार यस वर्ष महानगरपालिकाभित्रका कुल १४५ वटा शिक्षण संस्थामा ४ हजार ८५७ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ।
यो कोटा निर्धारण शिक्षण संस्थाहरूमा भर्ना भएका कुल विद्यार्थी संख्यालाई आधार मानेर गरिएको हो। जसअनुसार विज्ञान विषयका लागि २ हजार ३७१ कोटा, व्यवस्थापनमा १ हजार ५४९ कोटा, कानुनमा ७५ कोटा, मानविकीमा ४९ कोटा र शिक्षामा ७ कोटा निर्धारण गरिएको छ। यो कोटा क्रमशः १८ हजार ३५८ विज्ञान, २ हजार ३८२ व्यवस्थापन, ६२१ कानुन, ४६३ मानविकी र ११० जना शिक्षा विषयका कुल विद्यार्थी भर्ना संख्याका आधारमा तय गरिएको महानगरपालिकाले जनाएको छ।