काठमाडौं। सगरमाथा आरोहणका क्रममा ६ दिनअघि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा जीवितै फेला परेका छन्।
उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएको र यो आफैंमा एउटा आश्चर्यजनक एवं सुखद घटना भएको एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिएका छन्। लामो समय हिउँमा विताएका कारण शेर्पाका हातका औँलाहरूमा 'फ्रस्टबाइट' (हिउँले खाएर) क्षति पुगेको छ।
उनको खोजी तथा उद्धारका लागि बुधबार काठमाडौँबाट अल्टिच्युड एयरको हेलिकोप्टर सगरमाथा क्षेत्रमा परिचालन गरिएको थियो।
क्याप्टेन विवेक खड्काले दिएको जानकारी अनुसार हेलिकोप्टरले ५ हजार २०० मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरदेखि तेस्रो शिविरभन्दा तल्लो क्षेत्रसम्म दुई जना सहयोगीसहित व्यापक खोजी कार्य गरेको थियो।
लुक्लाबाट प्राप्त पछिल्लो विवरण अनुसार उद्धार टोली दावा शेर्पा फेला परेको स्थानमा पुगिसकेको छ र उनलाई आधार शिविर हुँदै थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ।
एक पोलिस नागरिकलाई सगरमाथा आरोहण गराएर फर्किने क्रममा जेठ १५ गते शुक्रबार तेस्रो शिविर आसपासबाट दावा शेर्पा अचानक सम्पर्कविहीन भएका थिए। उनी आबद्ध कम्पनी हिमालयन ट्राभर्स एडभेन्चर प्रालिले उनी हराएको जानकारी दिएको थियो।
प्रतिकूल मौसम र अत्यधिक उचाइका बिच ६ दिनसम्म हराएका व्यक्ति जीवितै भेटिनुलाई पर्वतारोहण क्षेत्रमा एउटा दुर्लभ घटनाका रूपमा हेरिएको छ।