काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाहरूको सञ्चालकहरूको विवरण सार्वजनिक गरेको छ।
समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार बचतकर्ताको रकम फिर्ता, सम्पत्ति खोजी तथा दायित्व व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले यी विवरणहरू बाहिर ल्याइएको हो।
सार्वजनिक गरिएको विस्तृत विवरणमा समस्याग्रस्त घोषित विभिन्न सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूको नाम, ठेगाना र उनीहरूको पारिवारिक विवरणसमेत समावेश गरिएको छ।
उपलब्ध दस्तावेजहरूका अनुसार हालसम्म हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो संसार बहुउद्देश्यीय सहकारी संस्था र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लगायतका संस्थाहरूका पदाधिकारीहरूको नामावली यस सूचीमा उल्लेख गरिएको छ।
कार्यालयले सार्वजनिक गरेको सूचनामा प्रकाशित विवरणमा कुनै फरक परेको खण्डमा वा अद्यावधिक गर्नुपर्ने अवस्था आएमा सम्बन्धित पक्षलाई तुरुन्त कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ।
यसका साथै, सार्वजनिक गरिएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी आफ्ना परिवार, आफन्त वा अन्य कुनै व्यक्तिको नाममा लुकाएर राखेको जानकारी भएमा त्यसबारे कार्यालयलाई गोप्य सूचना दिन आम नागरिकलाई अनुरोध समेत गरिएको छ।
समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई आफ्ना दायित्व फछ्र्योट गर्न, ऋण असुली प्रक्रियामा सहभागी हुन तथा सम्पत्तिको पहिचान र व्यवस्थापनमा पूर्ण रूपमा सहयोग पुर्याउन कडा निर्देशन दिएको छ।
तोकिएको समयभित्र दायित्व व्यवस्थापनमा सहयोग नगरे र अटेर गरेमा प्रचलित कानुनअनुसार कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत कार्यालयले दिएको छ।