काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
समितिले सोमबार एक सूचना जारी गर्दै विगतमा सरकारद्वारा समस्याग्रस्त घोषणा गरिएका सहकारीका ऋणीहरूको विवरण बाहिर ल्याएको हो ।
विवरण सार्वजनिक गरिएका संस्थाहरूमा विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् ।
समितिको पछिल्लो निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा यी ऋणीहरूको नामावली सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।
समितिले साविकमा आफ्नो ऋण पूर्ण रूपमा चुक्ता गरिसकेका तर प्राविधिक वा अन्य कारणवश यस सूचीमा नाम समावेश भएका ऋणीहरूलाई आवश्यक प्रमाणसहित तत्काल कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।
यसैगरी, हालसम्म ऋण चुक्ता नगरेका ऋणीहरूलाई यथाशीघ्र बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी आफ्नो दायित्व भुक्तानी गर्न कडा निर्देशन दिइएको छ । तोकिएको समयसीमा भित्र ऋण चुक्ता नगरेमा कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाई रकम असुलउपर गरिने ब्यहोरा समितिद्वारा जारी सूचनामा उल्लेख छ ।