अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं। काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामान सुरक्षित बनाउन अबदेखि ‘लगेज ट्याग’ प्रणाली लागू गरिने भएको छ। सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने तथा यात्राका क्रममा झोला हराउने, साटिने वा चोरी हुने समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यले यो नयाँ व्यवस्था भित्र्याउन लागिएको हो।

यस प्रणालीलाई कार्यान्वयनमा ल्याउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच शुक्रबार औपचारिक सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार आगामी जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा विशेष ट्याग लगाउन सुरु गरिनेछ।

नयाँ व्यवस्था अन्तर्गत बस काउन्टरबाटै यात्रुको लगेजमा एउटा कोड वा नम्बरसहितको ट्याग झुन्ड्याइनेछ र सोही नम्बरको टिकट यात्रुलाई पनि उपलब्ध गराइनेछ। गन्तव्यमा पुगेपछि यात्रुसँग भएको टिकट र बसको सामानमा रहेको ट्याग नम्बर रुजु गरेर मात्रै सामान हस्तान्तरण गरिनेछ। यस प्रणालीले सार्वजनिक यातायातमा हुने चोरी, सामान हिनामिना र गैरकानुनी गतिविधि नियन्त्रण गर्न ठूलो सघाउ पुग्ने विश्वास ट्राफिक प्रमुख अधिकारीले व्यक्त गरेका छन्।

महासंघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै अब सडक यातायातमा पनि आधुनिक व्यवस्थापन प्रणालीको अभ्यास सुरु गरिएको बताए। विशेषगरी चाडपर्व, रात्रिकालीन यात्रा र भीडभाडको समयमा यात्रुको सामान हराउने ठूलो चुनौती रहेको परिप्रेक्ष्यमा यस प्रणालीले यात्रुलाई ढुक्क भएर यात्रा गर्ने वातावरण बनाउने उनको भनाइ छ। ट्राफिक प्रहरीले आगामी दिनमा यस व्यवस्थालाई थप प्रविधिमैत्री बनाउँदै क्युआर कोड वा डिजिटल रेकर्डिङ प्रणालीमा लैजाने योजना समेत बनाएको छ।

यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले वर्षायामलाई लक्षित गरी ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३’ को समेत सुरुवात गरेको छ।

वर्षाका कारण हुन सक्ने सवारी दुर्घटना, पहिरो, डुबान र सडक अवरोधलाई कम गर्न यो अभियान सुरु गरिएको हो। यस अन्तर्गत मनसुन अवधिभर सवारी साधनको प्राविधिक अवस्थाको परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमपूर्ण सडकखण्डको निगरानी र यात्रु सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिने प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?