पोखराको अमरसिंहचौरका पुराना टहरामा चल्यो डोजर

पोखराको अमरसिंहचौरका पुराना टहरामा चल्यो डोजर

पोखरा । पोखरा महानगरपालिका–१२ स्थित अमरसिंहचौरमा रहेका ५२ वटा पुराना टहराहरू भत्काउन आज बिहानै महानगरले डोजर परिचालन गरेको छ । त्यहाँ लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरू आफैँले अधिकांश संरचनाहरू हटाइसकेका थिए भने बाँकी रहेका टहरा र संरचनाहरू भत्काउन आज बिहानै डोजर लगाइएको हो ।

अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेलमैदानको दक्षिणतर्फ, पृथ्वी राजमार्गसँग जोडिएको करिब ६ रोपनी क्षेत्रफलमा यी टहराहरू फैलिएका थिए । पोखराको मुख्य प्रवेश मार्गमै रहेका यी पुराना र अव्यवस्थित टहराका कारण सहरी सौन्दर्यीकरणमा ह्रास आउनुका साथै सो क्षेत्र निकै अस्वाभाविक र कुरुप देखिँदै आएको थियो ।

वि.सं. २०३५ सालदेखि व्यवसायीहरूले सो क्षेत्रमा टहरा निर्माण गरी व्यापार-व्यवसाय सञ्चालन गर्दै आएका थिए । यसअघि विद्यालय प्रशासनले पटक-पटक सार्वजनिक सूचना जारी गरी सो स्थान खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले अटेर गर्दै आएका थिए । तर, यसपटक महानगरको अभियानलाई स्वीकार गर्दै व्यवसायीहरूले संरचना हटाउन सहयोग गरेपछि पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले व्यवसायीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

पोखराको पुरानो, ऐतिहासिक र विद्यार्थीमाझ निकै लोकप्रिय मानिने अमरसिंह माध्यमिक विद्यालय यस क्षेत्रकै एक नमुना शिक्षण संस्था हो । हाल यस विद्यालयमा करिब दुई हजार आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने करिब १५० जना शिक्षक तथा कर्मचारीहरू कार्यरत रहेका छन् । टहरा हटेसँगै विद्यालयको खेलमैदान व्यवस्थापन र सहरी सौन्दर्यमा ठूलो सुधार आउने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?