असनस्थित प्रेमीको डेराबाट फरार कैदी सपना तामाङ पक्राउ, जेलभित्रै मौलाएको थियो प्रेम सम्बन्ध

असनस्थित प्रेमीको डेराबाट फरार कैदी सपना तामाङ पक्राउ, जेलभित्रै मौलाएको थियो प्रेम सम्बन्ध

काठमाडौं। केन्द्रीय कारागार जगन्नाथदेवलस्थित महिला बन्दीगृहबाट शुक्रबार फरार भएकी कैदी सपना तामाङ आइतबार राति असनबाट पक्राउ परेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई असनस्थित उनका प्रेमीको डेरामा लुकेर बसिरहेको अवस्थामा फेला पारेको हो।

नुवाकोटको विदुर नगरपालिका-१३ घर भई २५ वर्ष उमेर पुगेकी तामाङ अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेकी थिइन्।

अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार जेलमै रहेको समयमा उनको भोजपुर घर भई असनमा डेरा गरी बस्ने समीर श्रेष्ठसँग चिनजान भएको थियो। समीरकी आमा पनि सोही कारागारमा कैद सजाय काटिरहेकाले आमालाई भेट्न जाने क्रममा समिर र सपनाबीच कारागारभित्रै भेटघाट सुरु भई प्रेम सम्बन्ध विकास भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार प्रेमी समीरकै योजना र उक्साहटमा सपना शुक्रबार जेलबाट भाग्न सफल भएकी थिइन्। कारागारबाट भागेपछि उनीहरू दुवै जना रमाइलो र उत्सव मनाउनका लागि असनस्थित समीरकै डेरामा पुगेर बसेको प्रहरीले जनाएको छ।

आइतबार राति पक्राउ परेलगत्तै सपनालाई पुनः कारागार फिर्ता ल्याइसकिएको केन्द्रीय कारागारका प्रशासक (जेलर) कृष्ण चापागाईंले जानकारी दिएका छन्। फरार कैदीलाई भगाउन सहयोग गर्ने उनका प्रेमी समीरका सम्बन्धमा पनि प्रहरीले थप कानुनी कारबाही अगाडि बढाएको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?