सिन्धुली। इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा श्रीकृष्ण विकको शंकास्पद मृत्यु भएको घटनामा छानबिन समितिले एक प्रहरी निरीक्षक र एक जवानलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा गठित समितिले कार्यालय प्रमुख इन्स्पेक्टर वसन्त भुजेल र हिरासतको सुरक्षामा खटिएका जवान अर्जुन सिंहलाई कारबाहीका लागि सिफारिस गरेको हो।
यसका साथै, घटना हुँदाका बखत डिउटीमा रहेका अन्य कर्मचारीहरूलाई भने भविष्यमा सतर्क रहन सचेत गराइएको छ। गत वैशाख ७ गते साँझ हिरासतभित्रै झुण्डिएको अवस्थामा विकको शव फेला परेपछि घटनाको निष्पक्ष जाँचका लागि डीआईजी आचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो।
छानबिन प्रतिवेदनका अनुसार त्रिवि शिक्षण अस्पतालका चार सदस्यीय विशेषज्ञ टोलीले गरेको पोस्टमार्टम रिपोर्टले विकको मृत्यु झुण्डिएकै कारण भएको पुष्टि गरेको छ। रिपोर्टमा मृतकको शरीरमा घाँटीमा परेको डोरीको डामबाहेक अन्य कुनै चोटपटक नदेखिएको उल्लेख छ।
यस आधारमा उनको मृत्यु कुटपिट वा विषादीका कारण नभएको निष्कर्ष निकाल्दै समितिले हिरासत व्यवस्थापनमा कमजोरी देखिएका कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याएको हो।