काठमाडाैं।पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुनले सरकारले 'विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' स्थापना गरेकोमा खुसी व्यक्त गर्दै नेताहरूलाई यसअघि दिएको 'श्राप' फिर्ता लिएको घोषणा गरेका छन्।
आफूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत बालेन्द्र शाह नेतृत्वको सरकारप्रति आभार प्रकट गरेका हुन्।
पुनले केही समयअघि मात्र संसद्मा यस विषयमा जोडदार माग राखेको थियो भने तीन हप्ताअघि प्रधानमन्त्रीलाई लिखित पत्र समेत बुझाएका थिए।
आफ्नो माग पूरा भएपछि उनले सरकारको दीर्घायुको कामना गर्दै अब यो मन्त्रालयलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्नेबारे छलफल गर्न देशभक्त वैज्ञानिक र अनुसन्धानकर्ताहरूलाई आह्वान समेत गरेका छन्।
यसअघि विज्ञान र प्रविधिलाई उपेक्षा गरेको भन्दै आक्रोशित बनेका पुनले नेताहरूको दिमागमा कहिल्यै चेत नआओस् र उनीहरूलाई यमराजले नर्कमा हालुन् भन्दै कडा शब्दमा 'श्राप' दिएका थिए।
तर, सरकारको पछिल्लो कदमले सकारात्मक सञ्चार गरेको उल्लेख गर्दै उनले सो श्राप फिर्ता लिएको बताएका छन्। वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर मन्त्रालय पुनर्संरचना गरिएपछि पुन निकै उत्साहित देखिएका हुन्।