सर्वोच्च शिखरमा यस वर्षको पहिलो पाइला: आरोहण मार्ग तयार

सर्वोच्च शिखरमा यस वर्षको पहिलो पाइला: आरोहण मार्ग तयार

काठमाडौं। यस वर्षको वसन्त ऋतुका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको बाटो पूर्ण रूपमा खुलेको छ। आधारशिविरदेखि शिखरसम्म डोरी टाँग्ने कार्य (रोप फिक्सिङ) सम्पन्न भएसँगै आरोहीहरूका लागि बाटो खुल्ला भएको हो।

पर्यटन विभागका अनुसार बुधबार बिहान १०:२५ बजे दक्ष आरोही र आइसफल डाक्टरहरूको टोलीले चुचुरोसम्म डोरी टाँग्ने चुनौतीपूर्ण कार्य सफलतापूर्वक सम्पन्न गरेको हो।

सरकारले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनको जिम्मेवारी सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई सुम्पेको थियो। मार्ग निर्माणका क्रममा आधारशिविरदेखि क्याम्प–२ सम्म आठ जना ‘आइसफल डाक्टर’ र क्याम्प–२ देखि शिखरसम्म ११ जना अनुभवी पथप्रदर्शकहरू अहोरात्र खटिएका थिए।

आरोहण मार्ग तयार भएसँगै अब अनुकूल मौसम हेरेर विभिन्न देशका आरोहीहरूले सगरमाथाको शिखर पाइला टेक्ने प्रक्रिया सुरु गर्नेछन्। पर्यटन विभागले कठिन मौसम र भौगोलिक अवस्थाका बाबजुद बाटो निर्माणमा खटिएका सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्दै यस वर्षको आरोहण सफल हुने विश्वास व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?