यात्रुको सुरक्षाका लागि नयाँ कडाइ: उपत्यकाका सार्वजनिक सवारीमा ट्राफिकको विशेष निगरानी

यात्रुको सुरक्षाका लागि नयाँ कडाइ: उपत्यकाका सार्वजनिक सवारीमा ट्राफिकको विशेष निगरानी

काठमाडौं। काठमाडौं उपत्यकाको सार्वजनिक सवारीसाधनलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले विशेष सक्रियता देखाएको छ।

सार्वजनिक यातायातको अवस्था, सुरक्षा मापदण्डको पालना र ट्राफिक नियमको अवस्थाबारे निगरानी गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको हो। विशेषगरी बढ्दो दुर्घटना न्यूनीकरण र यात्रु सेवामा सुधार ल्याउने उद्देश्यका साथ यो नियमित अभियान थालिएको कार्यालयले जनाएको छ।

यस अभियानअन्तर्गत उपत्यकामा सञ्चालित सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा जडान गर्नुपर्ने भनिएका सिसीक्यामेरा र ड्यासबोर्ड क्यामेरा जडान भए/नभएको विषयलाई प्रमुखताका साथ हेरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सुरक्षा उपकरणको प्रयोगसँगै सवारीसाधनको सरसफाइ, चालक तथा सहचालकको व्यवहार र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिको समेत सुक्ष्म निगरानी भइरहेको जानकारी दिए। सरकारले तोकेको मापदण्ड पालना नगर्ने र सवारीसाधनलाई व्यवस्थित नराख्ने धनी तथा चालकमाथि कडा कानुनी कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ।

अनुगमनकै क्रममा एसएसपी अधिकारीसहितको विशेष टोलीले बुधबार आफैँ सार्वजनिक बसमा यात्रा गर्दै स्थलगत निरीक्षणसमेत गरेको थियो। सो क्रममा चालकहरूले लेन अनुशासन पालना गरे/नगरेको, तोकिएको स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने गरेको छ कि छैन, तथा सवारी चलाउँदा मोबाइल फोनको प्रयोग र गतिको अवस्था कस्तो छ भन्नेबारे प्रत्यक्ष जाँच गरिएको थियो।

पछिल्लो समय सार्वजनिक यातायातमा सुरक्षा उपकरणको अभाव र चालकको लापरबाहीका कारण यात्रुको गुनासो बढ्दै गएपछि प्रहरीले यो कडा कदम चालेको हो। यो अभियान आगामी दिनमा उपत्यकाका सबै मुख्य रुटहरूमा निरन्तर जारी रहने ट्राफिक प्रहरीले स्पष्ट पारेको छ।

छुटाउनुभयो कि ?