इन्द्रचोकको सुन पसलमा पेस्तोल देखाएर लुटपाट प्रयास: मुख्य योजनाकारसहित तीन जना पक्राउ

इन्द्रचोकको सुन पसलमा पेस्तोल देखाएर लुटपाट प्रयास: मुख्य योजनाकारसहित तीन जना पक्राउ

काठमाडौं। काठमाडौंको मुख्य व्यापारिक केन्द्र इन्द्रचोकस्थित 'नैना एन्ड इसन ज्वेलर्स' मा पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा विकेश राजवाहक, अरुण भुजेल र ललितपुरका हरिकृष्ण महर्जन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएको एक थान पेस्तोल समेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

यही वैशाख १७ गते भएको उक्त घटनाको दृश्य सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो। सीसीटीभी फुटेजमा हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना व्यक्ति पसलभित्र छिरेर एक्लै बसिरहेकी महिला कर्मचारीलाई पेस्तोल तेर्साएको देखिन्छ। तर, ती कर्मचारीले डराउनुको सट्टा साहसका साथ प्रतिकार गरेपछि लुटेराहरू रित्तै हात भाग्न बाध्य भएका थिए।

प्रहरीका अनुसार उक्त दिन ज्वेलर्सबाट केही लुट्न नसके पनि सोही क्षेत्रको अर्को एक पसलमा भएको चोरीको घटनामा समेत यो गिरोहको संलग्नता हुन सक्ने देखिएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको र उनीहरू यसअघि अन्य आपराधिक गतिविधिमा संलग्न भए/नभएको बारे खोजी भइरहेको प्रहरीले जनाएको छ।

इन्द्रचोक जस्तो व्यस्त ठाउँमा दिउँसै भएको यो प्रयास र प्रहरीको पछिल्लो सफलताले सुरक्षा व्यवस्थामा चुनौती र तत्परता दुवैलाई उजागर गरेको छ।