कोरोना सजकता:कैदीबन्दी भेटघाटमा कडाइ

कोरोना सजकता:कैदीबन्दी भेटघाटमा कडाइ

तनहुँ :सदरमुकाम दमौलीस्थित जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाट गर्न आउने मानिसलाई कडाइ गरेको छ । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको हो ।

कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले भन्नुभयो, “अत्यवश्यक अवस्थामा बाहेक प्रवेशमा रोक लगाइएको छ ।” अत्यावश्यक भेट्न आउनुपर्ने अवस्था भएमा अनिवार्यरूपमा मास्क लगाएर साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उक्त कारागारमा चारगुणा बढी कैदीबन्दी छन् । पैतीस जना क्षमताको उक्त कारागारमा कैदी ८० र थुनुवा ६६ गरी हाल १ं४६ कैदीबन्दी छन् । कारागार परिसरमा निर्माण गरिएको नयाँ बन्दीगृह हस्तान्तरण गरिए पनि सञ्चालनमा ल्याउन ढिलाइ भएका कारण गर्मी मौसम शुरुआतसँगै कैदीबन्दीले कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो । कारागार नजिक विद्युत्को थ्रीफेज नहुँदा सञ्चालन गर्न गाह्रो भएको छ ।

उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरण कार्यालयसँग कुरा भइरहेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।” क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राख्नुपर्दा उनीहरुलाई सुत्न र शौचालय जान समस्या हुने गरेको छ । कारागार परिसरमा निर्माण सम्पन्न गरिएको नयाँ बन्दीगृह सञ्चालनमा ढिलाइ भएका कारण कैदीबन्दीले सास्ती भोग्नुपरेको कारागारका चौकीदार बिष्णुहरि घिमिरेले बताउनुभयो ।