काठमाडाैं। फेरि एकपटक दुबईबाट हुने अन्तर्राष्ट्रिय उडानहरु अनिश्चित कालका लागि रोकिएको छ। आइतबार बिहान एक ड्रोनले उक्त विमानस्थलमा रहेको इन्धन ट्यांकीमा आक्रमण गरेको र सो घटनापछि नजिकैको इन्धन ट्यांकीमा आगलागी भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल मा उडानहरू अस्थायी रूपमा रोकिएको हो।
दुबई नागरिक उड्डयन प्राधिकरणका अनुसार यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सावधानीका रूपमा उडान स्थगित गरिएको हो। यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ।
एमिरेट्स एयरलाइन्सले यात्रुहरूलाई तत्काल विमानस्थल नजान अनुरोध गर्दै यात्रु र चालक दलको सुरक्षा नै आफ्नो सबैभन्दा ठूलो प्राथमिकता भएको जनाएको छ। अधिकारीहरूले आगलागी नियन्त्रणमा आइसकेको र घटनामा कोही घाइते नभएको जनाएको छ।
ट्रम्पले मागे सहयोग
यसैबीच अमेरिका-इजरायल र इरानबीचको द्वन्द्वका कारण हर्मुज जलडमरू (स्ट्रेइट अफ हर्मुज) मा उत्पन्न अवरोधबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले चीनसहित अन्य सहयोगी राष्ट्रहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।
उनले उर्जा मार्गका रुपमा रहेको हर्मुजको सुरक्षा सुनिश्चित गर्न विभिन्न देशसँग सम्पर्क गरेपनि धेरै देशले उनको आग्रहलाइ बेवास्ता गरेका छन् भने केहीले सकारात्मक प्रतिक्रिया दिएका छन्।
साथै उनले युरोपेली देशविरुद्ध क्रुद्ध प्रतिक्रिया दिएका छन्। उनले सहयोगी राष्ट्रहरूका रुपमा रहेको नाटोको भविष्य ‘धेरै खराब हुन सक्ने’ बताए ।
ट्रम्पले अमेरिका र इजरायलका सैन्य उद्देश्य धेरै हदसम्म समान रहेको बताएका छन्, यद्यपि पूर्ण रूपमा उस्तै नहुन सक्ने उनले स्वीकार गरेका छन्। ट्रम्प प्रशासनका अधिकारीहरूले यो द्वन्द्व केही हप्ताभित्रै वा अझ छिट्टै अन्त्य हुन सक्ने अपेक्षा व्यक्त गरेका छन्।
तर इजरायलले भने आफ्नो सैन्य अभियान कम्तीमा अझ तीन हप्ता जारी रहने योजना रहेको जानकारी दिएको छ।
व्यापक आक्रमण
इजरायलले पछिल्लो २४ घण्टामा इरानका २०० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ। त्यसैगरी इरानले युद्ध सुरु भएदेखि अहिलेसम्म अमेरिका र इजरायलका लक्ष्यहरूतर्फ करिब ७०० मिसाइल र ३,६०० ड्रोन प्रहार गरेको जनाएको छ।
इरानको कडा चेतावनी
इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आइआरजीसी)का अनुसार हर्मुज जलडमरु बाट जहाज आवतजावतको जोखिम नलिन चेतावनी दिएको छ। उसले चेतावनी बेवास्ता गर्दै अवैध रूपमा जलडमरू पार गर्न खोजेपछि बुधबार गोली प्रहार गरिएको जनाएको छ।
त्यही बिहान लाइबेरियाको झण्डा बोकेको ‘एक्सप्रेस रोम’ नामक अर्को जहाज पनि नौसेनाको चेतावनी बेवास्ता गरेपछि ईरानी प्रहारबाट प्रभावित भएको बताइएको छ। यसैबीचमा अष्ट्रेलियाले होर्मुज जलडमरूमा जहाज नपठाउने जनाएको छ।
त्यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले इरानी राष्ट्रपति मसुद पेसेश्कियनसँग फोनवार्ता गर्दै मध्यपूर्वका देशहरूमाथि आक्रमण रोक्न आग्रह गरेका छन्। बेलायती प्रधानमन्त्री कियर स्टार्मर र ट्रम्पबीच पनि उक्त महत्वपूर्ण जलमार्ग पुनः खोल्ने विषयमा छलफल भएको बताए तर इरान अहिलेनै सहमत भएको छैन।
तेलको मूल्य आकासियो
द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ। आइतबार ब्रेन्ट क्रुड तेलको मूल्य करिब १०६ डलर प्रति ब्यारेल पुगेको छ, जुन जुलाई २०२२ यताकै उच्च स्तर हो। अमेरिकी तेलको मूल्य पनि १०१ डलरभन्दा माथि पुगेको छ।