खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं। पाशुपत क्षेत्रअन्तर्गत जयवागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको लामो समयदेखि बन्द रहेको पानीको निकास खोलिएको छ । पुस ६ र ९ गते रातभर गरिएको प्रयासपछि पुस १० गते बिहान पाइप जडान गरी निकास सञ्चालनमा ल्याइएको हो ।

काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतका अनुसार उक्त ढुङ्गेधारा लिच्छवीकालीन संरचना हो । “प्राचीन समयमा यस धाराबाट पानी निकास गर्न बनाइएको ढल यति फराकिलो थियो कि मानिस नै पसेर सफाइ गर्न सकिन्थ्यो,” उनले भने, “तर सहरीकरणसँगै खानेपानीका पाइप जडान गर्दा मौलिक ढल संरचना नष्ट गरी पाइप राखिएपछि करिब २५ वर्षअघि धाराको पानी निकास बन्द भएको थियो ।”

निकास खोल्ने प्रयास विगतमा पनि गरिएको बताउँदै संगतले करिब १० वर्षअघि गरिएको प्रयास सफल हुन नसकेको जानकारी दिए । “यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्म गहिराइ पहिल्याएर निरन्तर काम गरेपछि निकास खोल्न सफल भयौँ,” उनले भने ।

पानी निकास खुलेपछि सुन्धारालाई पुनःस्थापित गर्ने योजना रहेको अध्यक्ष संगतले बताए । “यो केवल पानीको धारो मात्र होइन, नेवार सभ्यताको पहिचान हो,” उनले भने, “यो जल व्यवस्थापन प्रणाली र प्राचीन इञ्जिनियरिङ्को जीवन्त दृष्टान्त भएकाले यसको मौलिकता जोगाउँदै पुनःस्थापना गरिनेछ ।”

जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्यका अनुसार सुन्धारा वास्तुकलात्मक रूपमा अत्यन्त महत्वपूर्ण छ । “ढुङ्गामा कलात्मक बुट्टा कुँदिएका छन्, विभिन्न स्थानमा देवी–देवताका मूर्तिहरू राखिएका छन्,” उनले भने, “यस धारामा गणेश र भैरवलाई द्वारपाल बनाएर जयबागेश्वरी माताले स्नान गर्ने गरेको विश्वास छ । आज पनि माताको चरण पखाल्न र धार्मिक अनुष्ठानमा यही धाराको शुद्ध पानी प्रयोग गरिन्छ ।”

स्थानीय मुकुन्दराज वैद्यका अनुसार जयबागेश्वरी मन्दिर र सुन्धाराको स्थापना लिच्छवीकालीन राजा नरेन्द्र देवको पालामा भएको हो । “राजा नरेन्द्र देवले जनताको कल्याणका लागि माताको आव्हान गरेपछि शिवजीको आशीर्वादसहित मानसरोवरबाट जयबागेश्वरी यहाँ आउनुभएको जनविश्वास छ,” उनले भने, “शिला नदीबाट ल्याइएको पानीमै माताले स्नान गर्ने परम्परा छ र दर्शन गर्दा माताको मुखभन्दा पाउको दर्शन गर्ने चलन रहेको छ ।”

यसअघि भएका पुनर्निर्माणका क्रममा धाराको मौलिक स्वरूप बिग्रिएको उल्लेख गर्दै वडाध्यक्ष संगतले अब विग्रिएको संरचना सुधार गरी यसको कलात्मकता र मौलिकता पुनःस्थापित गरिने प्रतिबद्धता व्यक्त गरे ।